गृह मन्त्रालयले सेवा सहजीकरणका लागि जिल्लालाई गरेको परिपत्रमा के छ ?

  • सोमबार २९ भौ २०८३ ०९:४७ PM
काठमाडौं । गृह मन्त्रालयले सेवा सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा जिल्ला प्रशासन कार्यालयलाई पाँचबुँदे परिपत्र जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा जारी परिपत्रमा सेवाग्राहीलाई विचौलियामुक्त, छिटोछरितो, सरल र प्रभावकारी रूपमा सेवा प्रवाह गर्न निर्देशन दिइएको छ। परिपत्रअनुसार सरकारी कार्यालय वरिपरि सेवाग्राहीलाई सहयोग तथा सहजीकरण गर्ने नाममा गैरकानुनी रूपमा रकम असुल गर्ने कार्यमा संलग्न व्यक्तिलाई निगरानी गरी कानुनबमोजिम कारबाहीको व्यवस्था मिलाउन भनिएको छ। त्यस्तै, अपाङ्गता भएका तथा अशक्त व्यक्ति, गर्भवती तथा सानो बच्चा भएकी महिला, ज्येष्ठ नागरिक र टाढाबाट सेवा लिन आएका सेवाग्राहीलाई सेवा प्रवाहमा प्राथमिकता प्रदान गर्न निर्देशन दिइएको छ। परिपत्रमा नागरिक सहायता कक्षबाट जिल्ला प्रशासन कार्यालयमा प्रयोग हुने सबै प्रकारका निवेदन तथा फारम, राष्ट्रिय परिचयपत्र र राहदानी सेवाका लागि अनलाइन फारम भर्ने, फोटोकपी तथा स्क्यान गर्ने, इमेलमार्फत पत्राचार गरी अभिलेख बुझ्न पठाउने तथा प्राप्त गरी प्रिन्ट गर्ने सेवा निःशुल्क उपलब्ध गराउनुपर्ने उल्लेख छ। त्यस्तै, जिल्ला प्रशासन कार्यालयमा जस्तै जिल्लास्थित सबै सरकारी तथा गैरसरकारी कार्यालयबाट समेत सम्बन्धित कार्यालयको सेवा प्रकृतिअनुसार नागरिक सहायता कक्षमार्फत निःशुल्क सहायता उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिइएको छ। सेवा प्रवाहलाई प्रभावकारी बनाउन सेवाग्राहीलाई आवश्यक पर्ने सूचना तथा जानकारी र कार्यविधिगत विषय कार्यालयको वेबसाइट, सामाजिक सञ्जाल तथा अन्य उपयुक्त माध्यमबाट नियमित रूपमा सम्प्रेषण गर्न पनि परिपत्रमा भनिएको छ। कार्यालयको वेबसाइट नियमित रूपमा अद्यावधिक गर्नसमेत निर्देशन दिइएको छ।