प्राकृतिक विपत्तिको त्रासलाई पन्छाउँदै अर्घाखाँचीको भुमिकास्थान पोखेडाँडामा भव्य तीज मेला

  • सोमबार २९ भौ २०८३ ०८:०४ PM
​काठमाडौं । पछिल्लो समय देशमा बाढीको विपत्तिका कारण यो वर्ष तीजको रौनक केही मन्द हुने आशंका गरिएको बखत अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकाको  पर्यटकीय तथा ऐतिहासिक स्थल पोखेडाँडामा भने हरेक वर्ष जस्तै यो वर्ष पनि हरितालिका तीज मेला तथा तीज गीत  कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।  ​विपत्तिको कठिन परिस्थिति र सुरुवाती आशंकाका बाबजुद स्थानीय जनसहभागितामा कुनै कमी आएन। अघिल्ला वर्षहरूमा जस्तै यसपालि पनि पोखेडाँडामा सयौको संख्यामा सर्वसाधारणको घुइँचो लागेको थियो।  ​ कार्यक्रममा परम्परागत तीज गीतका साथै मौलिक संस्कृति झल्किने  नृत्यहरू प्रस्तुत गरिएका थिए।  सर्वसाधारण  देखि अन्य सरोकारवालाको आपसमा खुसी साट्दै, गाउँदै र नाच्दै तीज मनाए। ​देशभरी विपत्तिको खबरले मनमा त्रास र अन्योल पैदा गरे तापनि परापूर्वकालदेखि चल्दै आएको आफ्नो मौलिक पर्व, संस्कृति र सामाजिक भाइचारालाई निरन्तरता दिन मानिसहरू स्वतःस्फूर्त रूपमा पोखेडाँडा पुगेका हुन्। ​यस मेलाले पोखेडाँडाको सांस्कृतिक महत्त्वलाई पुनः उजागर गर्नुका साथै प्राकृतिक विपत्तिको दुःखमा पनि सामाजिक एकता र नेपालीहरूको दृढ सांस्कृतिक जीवन्ततालाई प्रमाणित गरिदिएको छ।