रात्रिकालीन बस सेवामा सहकार्यको प्रस्ताव लिएर काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख डंगोल भक्तपुरका  र मध्यपुर थिमी नगरपालिकामा 

  • सोमबार २९ भौ २०८३ ०७:०३ PM
काठमाडौँ । रात्रिकालीन यातायात सेवा सञ्चालनका लागि अन्तर नगर सहकार्य, समन्वय र साझेदारिताको प्रस्ताव लिएर काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल आज भक्तपुर नगरपालिका र मध्यपुर थिमी नगरपालिका पुग्नुभएको छ । छलफलका लागि उहाँ प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, निर्देशक वसन्त आचार्य, साझा यातायातका अध्यक्ष शुशिलराज प्याकुरेल, कार्यकारी निर्देशक भुपेन्द्र अर्यालसहित जानुभएको हो । त्यस क्रममा उहाँले भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापती, उपप्रमुख रजनी जोशी, मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ र उपप्रमुख विजयकृष्ण श्रेष्ठसँग भेटेर छलफल गर्नुभएको छ ।  भेटघाटमा कार्यवाहक प्रमुख डंगोलले भन्नुभयो, ‘आज म रात्रिकालीन यातायात सञ्चालन गर्न सहकार्य अगाडि बढाउने एजेन्डा नै बोकेर आएकी हूँ । यो ट्रान्सबाउन्ड्री इस्यु हो । यसलाई कुनै भुगोल वा प्रशासनिक सीमाभित्र सीमित गरिनुहुँदैन । काठमाडौँ उपत्यकाको जनजीवनलाई सहज र आर्थिक गतिविधिलाई वृद्धि गर्न जुन पालिकामा रात्रिकालीन यातायात सञ्चालन हुन्छ । ती नगरपालिकाहरुले अपनत्व हुने गरी सेवा थाल्ने विषयमा हामीले धेरै चरणमा छलफल गरिसकेका छौँ । यसका लागि ३ महिनाको परीक्षण पनि गरेका छौँ । यसबाट अन्तरनगर साझेदारिताबाट रात्रिकालीन बस सेवा सञ्चालनका सम्भावना देखिएको छ । यसमा सहकार्य गरौँ ।’  कार्यवाहक प्रमुख डंगोलको प्रस्ताव सुनेपछि भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतीले ट्रली बस सञ्चालन हुँदाको अनुभव स्मरण गर्दै भन्नुभयो, ‘ट्रली बस सञ्चालन हुँदा काठमाडौँ र भक्तपुर राम्ररी जोडिएका थिए । स्थानीयलाई आवातजावत गर्न धेरै सजिलो थियो । जव, नियोजित रुपमा ट्रली बस समाप्त गरियो । त्यसपछि सार्वजनिक यातायातमा समस्या बढ्न थाल्यो । साँझ पर्न थालेपछि त झन कठिन भयो । यसकारण काठमाडौँ महानगरपालिकाले अगाडि सारेको व्यवस्थित सार्वजनिक यातायात सञ्चालनको प्रस्ताव सकारात्मक छ । यो प्रस्तावमा हामी आन्तरिक छलफल गर्छौँ ।’  उहाँले यसप्रकारको सेवा अति जरुरी रहेको बताउँदै यस प्रकारको सेवालाई केवल नाफा–घाटाको दृष्टिले मात्र हेर्न नहुने धारणा राख्नुभयो । भक्तपुरबासीहरुको काठमाडौँ र ललितपुरबासीसँग घरजम छ । साँझमा सार्वजनिक यातायात सहज नहुँदा घर माइत आवतजावत गर्न, संस्कार, संस्कृति र परम्परालाई धान्न कठिन भइरहेको थियो । भक्तपुर नगरपालिका उपप्रमुख जोशीले भन्नुभयो, ‘यो जरुरी सेवा हो । सबैले दायित्व लिएर सञ्चालन गर्नुपर्छ ।’ साझा यातायात सञ्चालक समितिका अध्यक्ष सुशिल प्याकुरेलले, स्थानीय सरकारको साझेदारितामा साझा यातायात सञ्चालन हुने भएपछि यात्रुहरुमा सुरक्षाप्रति आत्मविश्वाश हुन्छ । यसले यात्रुको संख्यामा वृद्धि गराउँछ । ‘यो कार्यका लागि काठमाडौँ महानगरपालिकाले लिएको नेतृत्वबाट श्रमिक र विद्यार्थी वर्गका बिचमा सार्वजनिक यातायातको सहज पहुँच बढ्नेछ । रात्रि व्यवसाय सञ्चालन गर्ने व्यवसायी, बिरामी तथा आन्तरिक पर्यटकलाई सहज हुनेछ ।’  यो सेवा असोज ३ गतेदेखि सुरु हुनेछ । सेवा राति ८ बजेदेखि १२ बजेसम्म सञ्चालन गर्ने योजना छ । यो सेवाबाट यात्रुहरुलाई थप सहजता प्रदान गर्न पालिकाहरुका विभिन्न स्थानमा चार्जिङ् स्टेशन बनाएर राती त्यही स्टेशनमा राख्ने र विहान सबेरैदेखि विद्यार्थी लक्षित सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ ।  साझा यातायातमा नेपाल सरकारको ३ अरब रुपियाँ, काठमाडौं महानगरपालिकाको १५ करोड रुपियाँ शेयर लगानी छ । अहिले साझा यातायातमा १११ वटा बस छन् । छलफलमा वडाध्यक्ष श्यामकृष्ण खत्री, हरिराम सुवाललगायत अधिकारी सहभागी हुनुहुन्थ्यो ।  भक्तपुर नगरपालिकापछि कार्यवाहक प्रमुख मध्यपुर थिमी नगरपालिका पुग्नुभएको थियो । त्यहाँ नगर प्रमुख र उपप्रमुखसँग साझेदारिताको प्रस्ताव राखेपछि नगर प्रमुख र उपप्रमुख दुवै जनाले सराहनीय काममा साझेदारी गर्न आफूहरु इच्छुक रहेको बताउनुभयो ।  नगर प्रमुख श्रेष्ठले भन्नुभयो, ‘पहिले त मध्यपुर साह्रै सुगम थियो । ट्रली बस सकिएसँगै हामी दुर्गम ठाउँको जस्तो भयौँ । काठमाडौँ महानगरपालिकाको रात्रिकालीन यातायात सञ्चालन गर्ने योजनाले हामीलाई पुनः सुगमता प्रदान गर्नेछ । यसमा सहकार्य गर्न प्रतिवद्ध छौँ ।’ असोज ३ गतेदेखि साझा यातायातका २८ वटा विद्युतीय बसबाट उपत्यकाको उत्तर दक्षिण र पूर्व पक्षिम दुवै भागलाई जोड्ने गरी सेवा थालनी गरिनेछ । यसअन्तगृत गोदावरीदेखि बुढानीलकण्ठसम्म ६ वटा, भक्तपुरको जगातीदेखि रत्नपार्क हुँदै ठमेलसम्म ६ वटा, एअरपोर्टदेखि चन्द्रागिरीको नागढुङ्गासम्म ४ वटा बस, कीर्तिपुरदेखि काठमाडौँको नयाँ सडक नेपाल बायु सेवा निगमसम्म ४ वटा र चक्रपथमा दुईतर्फी फन्को लगाउन ८ वटा बस सञ्चालन हुनेछन् ।  चक्रपथमा यातायात सेवा प्राप्त भएपछि एक ठाउँमा बस परिवर्तन गर्दा सेवा सञ्चालन गरेका हरेक ठाउँमा पुग्न सकिनेछ । यसरी यात्रा गर्दा अधिकतम ८० रुपियाँ भाडा लाग्नेछ ।