काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि २३ गतेसम्म पार्टीको छुट्टै १५औँ महाधिवेशन गर्ने भएको छ । सो पक्षले आज यहाँ पत्रकार सम्मेलन गरी संस्थापन पक्षले पार्टीलाई एकताबद्ध बनाउने सम्बन्धमा खासै चासो नदिएको र संवादलाई बेवास्ता गरेको भन्दै आगामी मङ्सिरमा १५औँ महाधिवेशन थाल्ने जनाएको हो । उक्त महाधिवेशन तयारी समितिका संयोजक प्रा डा शङ्शाक कोइरालाले १४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आगामी असोज १५ गतेदेखि वडा तहको अधिवेशन सुरु गर्ने जानकारी दिए । संयोजक प्रा डा कोइरालाले भने, “पार्टीको आधिकारिकतासम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा पार्टीको अधिवेशन र महाधिवेशनको एकतर्फी रूपमा घोषणा गरिएको कार्यतालिका स्थगन गरेर वार्ता र संवादमार्फत सहमतिमा पुग्ने वा सर्वोच्च अदालतको निर्णयको प्रतिक्षा नगरी एकलौटी रूपमा अगाडि बढ्नु कुनै पनि हालतमा उचित मान्न सकिन्न ।” उनले पार्टीको भविष्यलाई केन्द्रमा राखेर कानुनी र राजनीतिक दुवै पक्षको सम्मान हुनेगरी समाधान खोज्नु आजको आवश्यकता भएको उल्लेख गरे । पार्टीको संस्थापन पक्षले आइतबार मात्रै कार्यसम्पादन समितिको बैठकबाट निर्णय गरी आगामी असोज ३ गतेदेखि वडा अधिवेशन थाल्ने र असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने तालिका सार्वजनिक गरेको थियो ।