चौरचन र तीज एकै दिन परेपछि मिथिलामा बढ्यो पर्वको रौनक

  • सोमबार २९ भौ २०८३ ०४:५१ PM
धनुषा । कुम्हाले टोलमा बिहानको घाम चर्किँदै थियो तर धनुषाका क्षीरेश्वरनाथ नगरपालिका–४ हरैयाका  रामप्रबोध पण्डितको हात रोकिएको थिएन । चाकामा राखिएको माटो घुमाउँदै उनले केही बेरमै एउटा सुन्दर माटाको भाँडो तयार पारे । छेउमै तयार भएका भाँडाको थुप्रो बढ्दै थियो । “अरू बेला त फुर्सद नै हुन्छ । चौरचनलगायतका चाडपर्व आएपछि भने माटोले पनि बोलाउन थाल्छ”, उनले मुस्कुराउँदै भने, “जति बनाए पनि माग पूरा गर्न गाह्रो भइरहेको छ ।” पर्व नजिकिएसँगै धनुषाका कुम्हाले परिवारलाई यति बेला भ्याइनभ्याइ छ ।  वर्षभरि माटाका भाँडा बनाएर जीविका चलाउन कठिन हुँदै गए पनि चौरचनजस्ता पर्वले उनीहरूको पुरानो पेसालाई केही दिनका लागि भए पनि फेरि चलायमान बनाइदिएको छ । चौरचनका लागि माटाका भाँडाको विशेष महत्त्व छ । प्लास्टिक, स्टिल र अन्य आधुनिक सामग्रीको प्रयोग बढे पनि धार्मिक विधिमा प्रयोग हुने माटाका भाँडा भने अझै विस्थापित भएका छैनन् । त्यसैले पर्व नजिकिँदा कुम्हालेको चाकाले गति लिन्छ ।   “हामीले बनाएका भाँडा घरघरमा पुग्छन् । यही नै हाम्रो पेसा र पहिचान हो”, पण्डितले भने, “तर युवाहरू यो काम गर्न चाहँदैनन् । आम्दानी राम्रो नहुँदा अर्को पेसातिर जान्छन् ।” कुम्हालेको चाका घुमिरहँदा उता बजारमा भने चौरचन र हरितालिकाको तयारीले चहलपहल बढाएको छ । फलफूल, मिठाई, पूजा सामग्री, नयाँ कपडा तथा घरायसी सामग्री किनमेल गर्नेको सङ्ख्या बढ्न थालेको छ । क्षीरेश्वरनाथ नगरपालिका–१ रमदैयाकी अनिता यादवलाई यस वर्षको पर्वको तयारी केही फरक लागेको छ । चौरचन र हरितालिका तीज एकै दिन परेकाले उनको घरमा तयारी दोब्बर भएको छ । “तीजको व्रत बस्नुपर्ने, पूजा गर्नुपर्ने र चौरचनका लागि पनि प्रसाद तथा सामग्री तयार गर्नुपर्ने भएकाले काम धेरै छ”, उनले भने, “तर पर्व भनेको दुःख होइन, परिवार र आफन्तसँग खुसी बाँड्ने अवसर हो ।”  अनिता जस्तै गाउँ–सहरका धेरै महिला अहिले तीजको तयारीमा छन् । हरितालिका तीजमा महिलाले व्रत बसेर भगवान् शिव र पार्वतीको पूजा–आराधना गर्ने परम्परा छ । पछिल्लो समय तीज धार्मिक अनुष्ठानसँगै महिला भेटघाट, गीत–संगीत र सामाजिक सम्बन्ध विस्तारको अवसरसमेत बनेको छ । मिथिला समाजमा भने चौरचनको आफ्नै विशिष्ट सांस्कृतिक महत्व छ । चौठचन्द्रका नामले समेत चिनिने यस पर्वमा चन्द्रमाको पूजा गरिन्छ । व्रत बसेका महिला साँझ चन्द्रमालाई विभिन्न फलफूल, परिकार तथा प्रसाद अर्पण गर्छन् । परिवारको सुख, शान्ति, स्वास्थ्य र समृद्धिको कामना गर्दै पर्व मनाउने परम्परा पुस्तौँदेखि चलिआएको छ  चौरचनको तयारी केवल घरभित्र मात्र सीमित छैन ।  फलफूल बेच्ने व्यापारी, मिठाई पसले, पूजा सामग्री विक्रेता र कुम्हालेसम्म यसको प्रत्यक्ष प्रभाव परेको छ । महेन्द्रनगर धनुषाका स्थानीय बजारका एक व्यापारी दिनेश गुप्ताका अनुसार पर्व नजिकिँदै गएपछि फलफूल र पूजाका सामग्रीको माग बढेको छ । “पर्वको दुई–तीन दिन बजारमा निकै चहलपहल हुन्छ । ग्राहकको भीड बढेपछि व्यापार पनि बढ्छ”, उनले भने ।  दुई पर्व एकै दिन परेकाले मधेस प्रदेशका राजधानी जनकपुरधाम उपमहानगरपालिकासहित विभिन्न जिल्लाका केही स्थानीय तहले समेत स्थानीय बिदा दिने निर्णय गरेका छन् । पालिकाहरुले भदौ २९ गते सोमबार अत्यावश्यक सेवाबाहेक कार्यालय तथा मातहतका निकायमा स्थानीय बिदा दिने निर्णय गरेका छन् । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साहका अनुसार धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेका पर्वमा सर्वसाधारणलाई सहज रूपमा सहभागी हुन वातावरण बनाउने उद्देश्यले बिदा दिने निर्णय गरिएको हो । चौरचनका लागि बनाइएका माटाका भाँडा घाममा सुकिरहेका छन् । बजारमा फलफूल र पूजा सामग्रीको थुप्रो लाग्न थालेको छ । घरका आँगनमा तीज र चौरचनका लागि आवश्यक सामग्री जुटाइँदैछ । आधुनिकताको तीव्र विस्तारबीच पनि यस्ता पर्वले मिथिलाको पुरानो सांस्कृतिक अभ्यासलाई जीवित राखेको छ ।  चौरचनले कुम्हालेको चाका घुमाएको छ, तीजले महिलाको सांस्कृतिक सम्बन्धलाई जोडेको छ र बजारले त्यसको आर्थिक गतिविधिलाई साथ दिएको छ । रामप्रबोधको चाका फेरि घुमिरहेको छ । उनका हातमा माटोले आकार लिइरहेको छ । “यो भाँडो बेचेर केही पैसा आउँछ”, उनले चाका रोक्दै भने, “तर त्योभन्दा ठूलो कुरा हाम्रो परम्परा पनि त यही भाँडासँगै बाँचेको छ ।” मिथिलाको पर्वमा यही माटो, यही आस्था र यही परम्पराले हरेक वर्ष नयाँ रौनक थप्दै आएको छ ।