नेपाल विभिन्न धर्म, संस्कृति, संस्कार र परम्पराले सम्पन्न मुलुक हो : सभापति थापा 

  • सोमबार २९ भौ २०८३ ०९:०३ AM
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाल विभिन्न धर्म, संस्कृति, संस्कार र परम्पराले सम्पन्न मुलुक भएको बताएका छन् ।  हरितालिका तीजको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति थापाले नेपाली चाडपर्वले देशको मौलिकता र सांस्कृतिक पहिचानलाई प्रतिबिम्बित गर्ने बताए ।  उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा शुभकामना व्यक्त गरे ।सभापति थापाले तीज नेपाली महिलाहरूको आस्था, भावना र आत्मीयतासँग जोडिएको महत्वपूर्ण सांस्कृतिक पर्व भएको बताए ।  उनले यस पर्वले पारिवारिक सम्बन्धमा अपनत्व र आत्मीयता अभिवृद्धि गर्न योगदान पुर्‍याउँदै आएको बताए । थापाले चाडपर्वहरू उत्सवका अवसर मात्र नभई पुस्तौँदेखि सामाजिक जीवन, पारिवारिक सम्बन्ध र सांस्कृतिक पहिचानलाई जोड्ने माध्यमका रूपमा रहेको उल्लेख गरे । यस्ता सांस्कृतिक परम्पराले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको उनले बताए ।  उनले हरितालिका तीजले सबै नेपालीको जीवनमा सुख, शान्ति, सु–स्वास्थ्य, समृद्धि र आत्मीयता थपोस् भन्ने कामना गरे ।