बागलुङ । स्तरोन्नतिकै चरणमा रहेको बागलुङको बुर्तिबाङ प्रादेशिक अस्पतालमा जटिल शल्यक्रिया हुन थालेको छ । ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा रहेको बुर्तिबाङ प्रादेशिक अस्पतालमा हाडजोर्नी तथा नशा रोगसम्बन्धी शल्यक्रिया हुन थालेको छ । अस्पतालमा उपलब्ध स्वास्थ्य सेवाको दायरा विस्तार गर्ने क्रममा हाडजोर्नी तथा ट्रमासम्बन्धी शल्यक्रिया सफल भएपछि स्थानीयवासीलाई उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता कम हुने अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा अविनाश पोखरेलले बताए । अस्पतालमा शनिबार एकै दिन तीन बिरामीको सफल शल्यक्रिया गरिएको थियो । जसमा स्थानीय ४७ वर्षीया महिलाको दाहिने खुट्टाको गोलीगाँठोको हड्डी भाँचिएको समस्या, ४० वर्षीया महिलाको दाहिने हातको नसा च्यापिएको समस्या र १७ वर्षीया महिलाको दाहिने हातमा रहेको गाँठो (सिस्ट) को शल्यक्रिया गरिएको मेडिकल सुपरिटेन्डेन डा पोखरेलले जानकारी दिए । अस्तालका डा अविशेक चौहानको नेतृत्वमा डा दिनेश थापा र डा सुरज नेपालीसहितको समूहले सफल शल्यक्रिया गरेको मेसु पोखरेलले जानकारी दिए । ४७ वर्षीया महिलाको दाहिने खुट्टाको गोलीगाँठोमा भाँचिएको हड्डीलाई प्रविधिबाट पाता तथा स्क्रूको प्रयोग गरी जोडिएको थियो । त्यस्तै, ४० वर्षीया महिलाको दाहिने हातमा रहेकोे समस्याका लागि नसामा परेको दबाब हटाउने शल्यक्रिया गरिएको हो । त्यसैगरी, १७ वर्षीया महिलाको दाहिने हातमा रहेको गाँठो÷गिल्टीलाई शल्यक्रियामार्फत निकालिएको अस्पतालले जनाएको छ । अस्पतालमा हाडजोर्नी तथा ट्रमासम्बन्धी जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न हुनुलाई अस्पतालको सेवा विस्तारमा महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ । पश्चिम बागलुङ तथा आसपासका ग्रामीण क्षेत्रका नागरिकले हाडजोर्नी र नसासम्बन्धी उपचारका लागि टाढाका ठूला अस्पतालमा जानुपर्ने अवस्थालाई केही हदसम्म कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको अस्पतालले जनाएको छ ।