जनक परियारको गिरफ्तारीमाथि प्रश्न: ‘शक्तिशालीलाई छुन नसक्ने, कमजोरलाई समाउने ?’ 

  • आइबार​ २८ भौ २०८३ ०८:३० PM
काठमाडौँ । जेनजी अभियन्ता तथा राष्ट्रिय जागरण अभियान नेपालका संयोजक जनक परियारको गिरफ्तारीलाई लिएर कानुन व्यवसायी, दलित अधिकारकर्मी तथा युवा नेताले सरकारको आलोचना गरेका छन् । उनीहरूले परियारको गिरफ्तारी संविधानले सुनिश्चित गरेको वाक् तथा अभिव्यक्ति स्वतन्त्रताको मर्म विपरीत भएको दाबी गरेका छन् । आइतबार काठमाडौँको संवाद डबलीमा आयोजित कार्यक्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले नागरिकले सरकारको आलोचना गर्न पाउने अधिकारलाई कुण्ठित गरेर राज्यले गलत नजिर स्थापित गर्न खोजेको आरोप लगाए । उनले शक्तिशाली व्यक्तिलाई कारबाही गर्न नसक्ने तर कमजोर र सीमान्तकृत समुदायबाट आएका नागरिकलाई निशाना बनाउने प्रवृत्ति स्वीकार्य नहुने बताए । ‘अरू शक्तिशालीलाई छुन नसक्ने, सत्तारूढ दल रास्वपाका अराजक व्यक्तिको संरक्षण गर्ने तर जनक परियारजस्तो दुर्गमबाट आएको दलितको छोरो भनेर होचाको मुखमा घोचो गर्ने काम गरेर सरकारले ठुलो भूल गरेको छ,’ त्रिपाठीले भने, ‘यदि त्यस्तो हो भने अब हामी उनको साथमा छौँ ।’ त्रिपाठीले सत्तामा रहेकाले नागरिकको आलोचनालाई सुझावका रूपमा लिनुपर्नेमा त्यसलाई चुनौतीका रूपमा बुझेर आवाज दबाउने प्रयास गरे सत्ता असफल हुने दाबी गरे । उनका अनुसार लोकतान्त्रिक शासन व्यवस्थामा नागरिकको प्रश्न, आलोचना र असहमतिलाई नियन्त्रण गर्ने होइन, त्यसको जवाफ दिने दायित्व सरकारको हुन्छ । अधिवक्ता यमकुमारी ददेलले पनि परियारको गिरफ्तारीलाई लिएर प्रश्न उठाइन् । उनले परियारलाई पक्राउ गरेर सरकारले उनको मात्र नभई आम नागरिकको वाक् तथा अभिव्यक्ति स्वतन्त्रतालाई समेत कुण्ठित गर्न खोजेको आरोप लगाइन् । परियारलाई ‘जरुरी पक्राउ पुर्जी’ थमाएर पक्राउ गरिएको विषयमा उनले आपत्ति जनाइन् । ददेलका अनुसार जरुरी पक्राउ पुर्जीको कानुनी व्यवस्थाको दुरुपयोग गरेर नागरिकलाई पक्राउ गर्नु राज्य शक्तिको दुरुपयोग हो । ‘जनक परियारलाई थुनेर जनताको वाक् तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न खोजिएको छ,’ उनले भनिन् । ‘जरुरी पक्राउ पुर्जीको व्यवस्थालाई गम्भीर अपराधमा मात्र प्रयोग गर्नुपर्ने अवस्थामा त्यसको दुरुपयोग गरेर पक्राउ गर्नु राज्यको शक्तिको दुरुपयोग हो ।’ दलित मुक्ति अभियानका नेता दल मर्दन कामीले पनि परियारको गिरफ्तारीलाई राज्यले कमजोर नागरिकमाथि देखाएको शक्ति प्रदर्शनका रूपमा व्याख्या गरे । उनले शक्तिशाली व्यक्तिमाथि कारबाही गर्न नसक्ने तर सरकारको आलोचना गर्ने नागरिकलाई पक्राउ गर्ने प्रवृत्तिको विरोध गरे । ‘मैले पनि बालेन सरकारका गलत रवैयाको पर्दाफास गरिरहेको छु, हिम्मत छ भने मलाई गिरफ्तार गरेर देखाए हुन्छ,’ कामीले चुनौती दिए । उनले राज्यले आलोचनात्मक आवाजलाई नियन्त्रण गर्नुको सट्टा आफूले गरेका कामबारे नागरिकलाई जवाफ दिनुपर्ने बताए । श्रम संस्कृति पार्टीका युवा नेता निर्मल परियारले राहत तथा उद्धार कार्यमा सरकारको उदासीनता र सरकारका जनविरोधी कदमको विरोध गर्दा नागरिकलाई पक्राउ गरिनु गम्भीर विषय भएको बताए । उनले बालेन नेतृत्वको सरकारले आफ्ना कामप्रतिको आलोचना रोक्न जनक परियारलगायत नागरिकको आवाज दबाउन खोजेको आरोप लगाए । उनका अनुसार सरकारका काममाथि प्रश्न उठाउनु नागरिकको लोकतान्त्रिक अधिकार हो । त्यस्तो प्रश्नको जवाफ दिनुको सट्टा पक्राउ र नियन्त्रणको बाटो रोजिनु लोकतान्त्रिक संस्कार विपरीत हुने उनको भनाइ थियो । दलित अभियन्ता गणेश गोतामेले जनक परियारलाई पटक–पटक पक्राउ गरिनुले दलित समुदायमा सरकारप्रति थप प्रश्न उठेको बताए । उनले एउटै व्यक्तिलाई बारम्बार राज्यले निशाना बनाएको देखिनु गम्भीर विषय भएको भन्दै यसले सिङ्गो दलित समुदायमा सरकारको व्यवहारप्रति प्रश्न जन्माएको बताए । उनका अनुसार दलित समुदायबाट आएको नागरिकले आफ्ना सवाल उठाउँदा राज्यले त्यसलाई कसरी ग्रहण गर्छ भन्ने विषय अहिलेको बहसको महत्त्वपूर्ण पक्ष बनेको छ । राष्ट्रिय जागरण अभियान नेपालका संयोजकसमेत रहेका परियारलाई शनिवार साँझ काठमाडौँको अनामनगरस्थित संवाद डबलीबाट प्रहरीले पक्राउ गरेको थियो । अभियानको आयोजनामा समसामयिक राजनीतिक विषयमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । पत्रकार सम्मेलनमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, वरिष्ठ अधिवक्ता डा