काठमाडौँ। राष्ट्रिय बहिरा महासंघले यस वर्षको साङ्केतिक भाषाहरूको अन्तर्राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय बहिरा सप्ताह विभिन्न कार्यक्रम गरी मनाउने भएको छ। महासंघले प्रदेश समिति तथा जिल्ला बहिरा संघहरूलाई पत्राचार गर्दै आ–आफ्नो अनुकूलताअनुसार प्रदेश तथा जिल्लामा विभिन्न कार्यक्रम आयोजना गर्न भनेको हो। सन् २०१७ डिसेम्बर १६ मा संयुक्त राष्ट्र संघको महासभाले प्रत्येक वर्ष सेप्टेम्बर २३ लाई साङ्केतिक भाषाहरूको अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउने प्रस्ताव पारित गरेको थियो। विश्व बहिरा महासंघ (WFD) ले सेप्टेम्बर २३ अर्थात् ७ असोज २०८३ मा पर्ने नवौँ साङ्केतिक भाषाहरूको अन्तर्राष्ट्रिय दिवस तथा सेप्टेम्बर २१ देखि २७ अर्थात् ५ देखि ११ असोज २०८३ सम्म अन्तर्राष्ट्रिय बहिरा सप्ताह विभिन्न कार्यक्रम गरी मनाउन विश्वव्यापी रूपमा आह्वान गरेको छ। महासंघका अध्यक्ष सन्तोष केसीले साङ्केतिक भाषाहरूको अन्तर्राष्ट्रिय दिवसका अवसरमा विश्व बहिरा महासंघले उच्च पदस्थ व्यक्तिहरूलाई उक्त नारालाई सङ्केत गर्न लगाई त्यसको भिडियो सामाजिक सञ्जालमा प्रचारप्रसार गर्न, सार्वजनिक भवनमा नीलो बत्ती बालेर बहिरा समुदायको पहिचान उजागर गर्न तथा बहिरा झण्डा फहराएर विश्वव्यापी रूपमा जनचेतनामूलक कार्यक्रम आयोजना गर्न आह्वान गरेका छन्। अध्यक्ष केसीले भोटेकोशी बाढीमा परी मृत्यु भएकाहरूप्रति शोक व्यक्त गर्दै श्रद्धाञ्जली समेत अर्पण गरेका छन्। उनले यस वर्ष महासंघले भोटेकोशी बाढीमा परी मृत्यु भएकाहरूप्रति शोक मनाउने निर्णय गरेको जनाएका छन्।