काठमाडौँ । सामान्यतया भदौ लागेसँगै नेपाली समाजमा तीजको रौनक छाउँथ्यो । घर,आँगनदेखि बजारसम्म रातो साडी, चुरा, पोते र गरगहनामा सजिएका महिलाको चहलपहल देखिन्थ्यो । तीजका गीत घन्किन्थे, दिदीबहिनी भेला भएर दर खान्थे, नाचगान गर्थे । कार्यालय, संस्था र समुदायमा तीज विशेष कार्यक्रम आयोजना हुन्थे । तर यसपटकको तीजको माहोल फरक छ । रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएपछि त्यसको त्रास र पीडाले मुलुकका धेरै परिवारलाई रुवाएको छ । विशेषगरी रसुवा, नुवाकोट, धादिङलगायतका बाढी प्रभावित क्षेत्रमा तीजको उल्लासभन्दा आफन्तको खोजी, विस्थापनको पीडा र भोलिको चिन्ताले ठाउँ लिएको छ । अन्य जिल्लाका नागरिक पनि बाढीमा परेकाले देशभर शोक छाएको छ । आज तीज दर खाने दिन । विगतमा यही दिन दिदीबहिनीहरू एकै ठाउँमा जम्मा भएर दर खाने, सुखदुःख साट्ने र तीजको गीतमा रमाउने गर्थे । यसपटक भने कतिपय परिवारका लागि दर खाने दिन पनि हराएका आफन्तको सम्झनामा बितिरहेको छ । नुवाकोटकी सुकुमाया तामाङको आँखामा तीजको रौनक होइन, हराइरहेका आफन्त भेटिने आशा छ । “कि सास, कि लास भए पनि भेटियो”, भन्ने आशामा दिन बिताइरहेका परिवारका लागि चाडपर्वको खुसी कसरी सम्भव होस्