काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले ग्यास विक्रेता तथा वितरकलाई ग्यास लुकाएर राखे वा बिक्री नगरे तत्काल कानुनी कारबाही गर्ने चेतावनी दिएको छ। प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै काठमाडौं जिल्लामा खाना पकाउने ग्यासको आपूर्ति भइरहे पनि उपभोक्ताले सहज रूपमा ग्यास प्राप्त गर्न नसकेको गुनासो बढ्दै गएको जनाएका छन्। कार्यालयले ग्यास विक्रेताले ग्यास उद्योग वा डिलरबाट प्राप्त गरेको ग्यास जुनसुकै समयमा उपभोक्तालाई बिक्री गर्न निर्देशन दिएको छ। साथै, जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाभरि सघन अनुगमनसमेत गरिरहेको जनाएको छ। सरकारले तोकेको मूल्यभन्दा बढी रकम लिएर ग्यास बिक्री गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ। त्यसैगरी, कसैले ग्यास भण्डारण गरी लुकाएको फेला परेमा अनुगमन टोलीले तत्काल नियन्त्रणमा लिएर कानुनी कारबाही गर्ने चेतावनी प्रशासनले दिएको छ। ग्यासको स्टक लुकाएको वा स्टक राखेर बिक्री नगरेकोबारे सूचना प्राप्त भएमा तत्काल जिल्ला प्रशासन कार्यालय काठमाडौंका सूचना अधिकारीको मोबाइल नम्बरमा फोन गरी जानकारी दिनसमेत कार्यालयले उपभोक्तालाई आग्रह गरेको छ।