अर्घाखाँची । छत्रदेव गाउँपालिका–८ का वडाध्यक्ष भीष्म कुँवरले वर्षायामका कारण बिग्रिएको सडक आफ्नै व्यक्तिगत खर्चमा मर्मत गराएर स्थानीयको आवागमन सहज बनाएका छन्। छत्रदेव गाउँपालिका–८ अन्तर्गत पर्ने मिलमिले–चिदीपानी–अर्घातोष सडकखण्ड वर्षाका कारण विभिन्न स्थानमा बिग्रिएपछि सवारीसाधन सञ्चालनमा समस्या हुँदै आएको थियो। सडक बिग्रिएर आवागमन प्रभावित भएपछि वडाध्यक्ष कुँवरले आफ्नै खर्चमा जेसीबी प्रयोग गरी सडक मर्मत तथा सरसफाइ गराएका हुन्। सडकमा खाल्डाखुल्डी पर्नुका साथै ठाउँ–ठाउँमा माटो तथा ढुंगा थुप्रिएका थिए। वर्षाका कारण सडकको अवस्था कमजोर बनेपछि सवारीसाधन सञ्चालनमा कठिनाइ हुँदै आएको स्थानीयले बताएका छन्। सडक मर्मतपछि अहिले सवारीसाधन सञ्चालनमा सहजता आएको छ। वडाध्यक्ष कुँवरले जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका सडक, खानेपानी, विद्युत्, शिक्षा र स्वास्थ्यलगायत आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताइएको छ। विशेषगरी वर्षायाममा सडक अवरुद्ध हुँदा स्थानीयले भोग्नुपर्ने समस्या तत्काल समाधान गर्न उनले व्यक्तिगत पहलसमेत गर्दै आएका छन्। उनी वडाका विभिन्न टोल तथा बस्तीमा पुगेर स्थानीयका समस्या सुन्ने, विकास निर्माणको अवस्थाबारे जानकारी लिने र आवश्यकताअनुसार वडाको तर्फबाट सहयोग तथा पहल गर्दै आएका छन्। स्थानीयका अनुसार वडाध्यक्ष कुँवर कार्यालयमा बसेर मात्र सेवा प्रवाह गर्नेभन्दा आवश्यकताअनुसार गाउँ–टोलमै पुगेर समस्या पहिचान गर्ने र समाधानका लागि पहल गर्ने गरेका छन्। वर्षाका कारण ग्रामीण सडकमा पटक–पटक समस्या आउने अवस्थामा जनप्रतिनिधिको प्रत्यक्ष पहलले स्थानीयलाई तत्काल राहत पुग्ने गरेको स्थानीयको भनाइ छ। कुँवरको व्यक्तिगत खर्चमा गरिएको सडक मर्मतले पनि स्थानीयलाई आवतजावतमा सहज भएको उनीहरूको भनाइ छ। सडक मर्मतपछि मिलमिले, चिदीपानी, अर्घातोषलगायत क्षेत्रका स्थानीयलाई आवतजावतमा सहज भएको छ। दैनिक उपभोग्य सामग्री ढुवानी तथा बिरामीलाई स्वास्थ्य संस्थासम्म लैजानसमेत सहज हुने भएको स्थानीयले बताएका छन्।