वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • शनिबार २७ भौ २०८३ ०६:०३ PM
सान्टियागो। चिलीको दक्षिणी क्षेत्रमा रहेको एक वृद्धाश्रममा शुक्रबार साँझ आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएका छन्। प्रहरीका अनुसार स्थानीय समयअनुसार राति करिब १०ः३० बजे आगलागी सुरु भएको थियो। वृद्धाश्रममा रहेका व्यक्तिमध्ये १० जनालाई मात्र सुरक्षित रूपमा बाहिर निकाल्न सकिएको थियो। ‘राति करिब १०:३० बजे आगलागी सुरु भयो। वृद्धाश्रममा रहेकामध्ये १० जनालाई मात्र सुरक्षित रूपमा बाहिर निकाल्न सकियो। १६ जनाको मृत्यु भएकोमा हामी दुःखी छौँ’, एक प्रहरी अधिकारीले भने। आगलागी नियन्त्रणका लागि दमकल, चिकित्सा टोली तथा छिमेकी क्षेत्रका उद्धार टोलीलाई घटनास्थलमा परिचालन गरिएको थियो। घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। शनिबार बिहानसम्म पनि अग्निनियन्त्रक, प्रहरी र स्थानीय नगरपालिकाका कर्मचारी घटनास्थलमा खटिएका थिए। उनीहरूले भग्नावशेष हटाउनुका साथै घटनास्थललाई सुरक्षित बनाउने काम गरिरहेका थिए। आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।