किन्शासा। प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ७ हजार नाघेको छ भने यसबाट मृत्यु हुनेको सङ्ख्या करिब तीन हजार ४ सय पुगेको छ। शुक्रबार सार्वजनिक गरिएको सरकारी स्वास्थ्य अवस्थासम्बन्धी पछिल्लो विवरणअनुसार सेप्टेम्बर १० सम्म ७ हजार २२ जनामा सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमणका कारण तीन हजार ३ सय ९८ जनाको मृत्यु भएको छ भने एक हजार ६ सय ७१ जना उपचारपछि निको भएका छन्। हालको तथ्याङ्कअनुसार सङ्क्रमितमध्ये मृत्यु हुने दर ४८ दशमलव ४ प्रतिशत रहेको छ। इबोलाको प्रकोप कङ्गोका सात प्रान्तका ६२ स्वास्थ्य क्षेत्रमा फैलिएको छ। स्थानीय अधिकारीहरूका अनुसार सुद–उबाङ्गी प्रान्तमा पनि एक जनामा सङ्क्रमण पुष्टि भएपछि उक्त प्रान्त पछिल्लो प्रभावित क्षेत्र बनेको हो। सुद–उबाङ्गीमा पुष्टि भएको सङ्क्रमण दक्षिण किभु प्रान्तबाट यात्रा गरेर आएका २३ वर्षीय पुरुषमा देखिएको थियो। ती सङ्क्रमितको पछि मृत्यु भएको स्थानीय अधिकारीहरूले जनाएका छन्। सुद–उबाङ्गी यसअघि सङ्क्रमण पुष्टि भएका छ वटा प्रान्तसँग सीमा जोडिएको छैन। ती प्रान्तहरूमा इतुरी, उत्तर किभु, दक्षिण किभु, हाउट–उएले, चोपो र बास–उएले रहेका छन्। गत मे महिनामा घोषणा गरिएको हालको इबोला प्रकोप कङ्गोको इतिहासमै सबैभन्दा ठूलो र घातक बनेको छ। विश्वव्यापी रूपमा भने सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा फैलिएको इबोला प्रकोपपछि यो दोस्रो ठूलो प्रकोप बनेको छ।