भोटेकोशी बाढीका कारण विभिन्न बैंकका १७ शाखा प्रभावित, ७२.४ करोडको क्षति 

  • शनिबार २७ भौ २०८३ ०५:४५ PM
काठमाडौँ। रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको बाढीका कारण १२ वटा बैंकका १७ वटा शाखा प्रभावित भएका छन्।  राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन (आरडिएनए) प्रतिवेदनअनुसार रु ७२ दशमलव चार करोड बराबरको क्षति भएको छ। जसमध्ये सबैभन्दा बढी क्षति कृषि विकास बैंकमा भएको छ। बैंकको एउटा शाखामा रु ६५ करोडको क्षति भएको छ। प्राधिकरणका अनुसार सिटिजन बैंकको एउटा शाखा प्रभावित हुँदा रु एक करोड ५६ लाखको क्षति भएको छ। ग्लोबल आइएमई बैंकको एउटा शाखा प्रभावित हुँदा रु ११ लाख, हिमालय बैंकको एउटा शाखा प्रभावित हुँदा रु ७५ लाख र लक्ष्मी सनराइज बैंकको एउटा शाखा प्रभावित हुँदा रु एक करोड १२ लाखको क्षति भएको छ। माछापुच्छ्रे बैंकको एउटा शाखा प्रभावित हुँदा रु ७५ लाख तथा नबिल बैंकको एउटा शाखा प्रभावित हुँदा रु ६३ लाखको क्षति भएको छ। एनआइसी एसिया बैंकका तीन वटा शाखा प्रभावित हुँदा रु ८८ लाख र नेपाल इन्भेष्टमेन्ट बैंकका तीन वटा शाखा प्रभावित हुँदा रु ४० लाखको क्षति भएको छ। त्यसैगरी, एनएमबी बैंकको एउटा शाखा प्रभावित हुँदा रु चार लाखको क्षति भएको छ। प्रभु बैंकका दुई वटा शाखा प्रभावित हुँदा रु ५३ लाख र सानिमा बैंकको एउटा शाखा प्रभावित हुँदा रु ६३ लाखको क्षति भएको छ। प्रतिवेदनअनुसार बाढी प्रभावित क्षेत्रमा बैंक तथा वित्तीय सेवामा क्षति पुगेको छ। नुवाकोटको विदुर नगरपालिकामा बैंकका चार वटा शाखामा रु ६७ करोड १३ लाखको क्षति भएको छ। रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा ११ वटा शाखामा रु चार करोड २३ लाख, रसुवाकै कालिका गाउँपालिकामा एउटा शाखामा रु २८ लाख तथा सोही जिल्लाको उत्तरगया गाउँपालिकामा एउटा बैंकको शाखा प्रभावित हुँदा रु ७५ लाखको क्षति भएको छ। उक्त रकमबाहेक पनि छुट्टै रु १९ करोड ५९ लाख क्षति भएको देखिएको छ। प्रतिवेदनअनुसार नुवाकोटको विदुरमा रु छ करोड ४० लाख, रसुवाको गोसाइँकुण्डमा रु नौ करोड ५३ लाख, कालिका गाउँपालिकामा रु ७९ लाख र उत्तरगया गाउँपालिकामा रु तीन करोड २३ लाखको क्षति भएको छ।