तनहुँ । व्यास नगरपालिका-२ अन्तर्गत बुल्दी खोला आसपासका बस्तीलाई वर्षायाममा हुने डुबान तथा कटानबाट जोगाउन तटबन्धन निर्माणको काम तीव्र गतिमा अघि बढाइएको छ । बुल्दी खोलाको आसपासका बाघबजार, उत्तरशिला र पुल्चोक टोललगायतका क्षेत्र वर्षायाममा डुबान तथा कटानको जोखिममा पर्दै आएका छन् । खोलामा पानीको बहाव बढ्दा बस्ती तथा आसपासका संरचनामा समेत असर पुग्ने भएकाले जोखिमयुक्त स्थानको व्यवस्थापनका लागि तटबन्धन निर्माण थालिएको हो । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाअन्तर्गत चालु आर्थिक वर्ष २०८३/८४ को बजेटबाट तटबन्धन सुरु गरिएको वडासदस्य सुरेश वाग्लेले जानकारी दिए। उनका अनुसार उक्त कार्यका लागि रु १ करोड ३ लाख रुपौँयाको बोलपत्र गरिएको छ । बुल्दी खोलाको जोखिमयुक्त क्षेत्रमा आवश्यक संरचना निर्माण तथा व्यवस्थापन गरी वर्षायाममा हुने सम्भावित क्षति न्यूनीकरण गर्ने लक्ष्य राखिएको वाग्लेले बताए। तटबन्धन निर्माणसँगै खोलाको किनार तथा जोखिमयुक्त क्षेत्रमा कटान नियन्त्रण हुने र आसपासका बस्तीमा डुबानको जोखिमसमेत कम हुने उनको भनाइ छ । विगतमा वर्षायाममा खोलाको बहाव बढ्दा प्रभावित हुने क्षेत्रलाई प्राथमिकतामा राखेर काम अघि बढाइएको वाग्लेले बताए। व्यास नगरपालिका-२ बाहेक व्यास नगरपालिका-१ का केही जोखिमयुक्त स्थानमा समेत तटबन्ध निर्माणको काम भइरहेको उनले जानकारी दिए। उनले जोखिमयुक्त क्षेत्रको पहिचान गरी आवश्यकताअनुसार तटबन्धन तथा अन्य संरचना निर्माणलाई प्रभावकारी रूपमा अघि बढाइने बताए।