काठमाडौँ । गायक टङ्क तिमिल्सिनाले ‘मनमाया’ गीतबाट चौथो नेसनल ब्रान्ड म्युजिक अवार्डमा उत्कृष्ट लोक पप गायकको अवार्ड जितेका छन् । अवार्ड जितेपछि तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत खुसी साट्दै आफूलाई माया र साथ दिने सबैप्रति आभार व्यक्त गरेका छन् । उनले अवार्डसहितको तस्बिर फेसबुकमा सार्वजनिक गर्दै लेखेका छन्, ‘चौथो नेसनल ब्रान्ड म्युजिक अवार्डमा ‘मनमाया’ गीतबाट वेस्ट लोक पप सिङ्गर अवार्ड जित्न सफल भएको छु र यो खुसी तपाईँहरूलाई यो फोटोबाट सेयर गर्न चाहन्छु ।’ ‘मनमाया’ गीतबाट प्राप्त यो सम्मानले आफ्नो साङ्गीतिक यात्रामा थप उत्साह र ऊर्जा मिलेको तिमिल्सिनाले बताएका छन् । गायक तिमिल्सिनाको 'मनमाया' एक वर्ष अघि सार्वजनिक भएको थियो । तिमिल्सेनलाई चर्चित लोक तथा दोहोरी गायिका शान्ति श्री परियारले स्वरमा साथ दिएकी छन् भने उक्त गीतको म्युजिक भिडियोमा आश्मा विश्वकर्मा, दीपक ढकाल र सुनिता लामागाडेको आकर्षक नृत्य तथा अभिनय रहेको छ । तिमिल्सिनाको आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको मनमाया अहिलेसम्म युट्युबमा ७० लाख भन्दा बढी पटक हेरिएको छ । उक्त गीतको शब्द तथा सङ्गीत पनि गायक तिमिल्सिनाकै रहेको छ ।