अशक्तको घरमा प्रजिअ : भुन्टी विकले ७२ वर्षमा पाइन् नागरिकता

  • शनिबार २७ भौ २०८३ ०८:१६ AM
बैतडी। बैतडीको दशरथचन्द नगरपालिका–१ पितलथलाकी भुन्टी विकले ७२ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन्। प्रमुख जिल्ला अधिकारी मीना अर्यालले सात दशकभन्दा बढी उमेर बिताइसकेकी सुस्त मनस्थिति भएकी विकलाई नागरिकताको प्रमाणपत्र प्रदान गरेकी हुन्। नागरिकता नहुँदा विक राज्यबाट प्राप्त हुने सामाजिक सुरक्षा भत्तालगायत सेवासुविधाबाट वञ्चित हुँदै आएकी थिइन्। न्यून आर्थिक अवस्था र सुस्त मनस्थितिका कारण जिल्ला प्रशासन कार्यालय पुगेर नागरिकता लिन सक्ने अवस्था नभएपछि उनलाई बिहीबार वडा कार्यालयमा पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको प्रजिअ अर्यालले बताइन्। जिल्ला प्रशासन कार्यालयले ‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रमअन्तर्गत अशक्त तथा अपाङ्गता भएका व्यक्तिलाई घर तथा पायक पर्ने स्थानमा पुगेर नागरिकता प्रदान गरिरहेको छ। यसअघि गएको बिहीबार दशरथचन्द नगरपालिका–६ की मानसिक अपाङ्गता भएकी अस्मिता पन्तलाई उनको घरमै पुगेर नागरिकता प्रदान गरिएको थियो। कार्यक्रमअन्तर्गत जिल्लाभरिका नागरिकताबाट वञ्चित अशक्त तथा अपाङ्गता भएका व्यक्तिको विवरण सङ्कलनको काम भइरहेको कार्यालयले जनाएको छ। 'नागरिकताबाट वञ्चित त्यस्ता नागरिकलाई सकेसम्म उनीहरूकै घरमा अथवा वडा कार्यालयमा नागरिकता प्रदान गर्ने हिसाबले काम भइरहेको छ,' प्रमुख जिल्ला अधिकारी अर्यालले भनिन्।