बाँदर–बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार

  • शनिबार २७ भौ २०८३ ०८:०० AM
पाल्पा। दुई वर्षअघि पाल्पाको रिब्दीकोट गाउँपालिका–१ ख्याहाका किसान बिहान उज्यालो नहुँदै बारीमा पुग्थे।  दिनभरि मकैका बोट नियाल्दै बाँदरको बथान देखिनेबित्तिकै गुलेली र नक्कली बन्दुक लिएर धपाउँथे। साँझ परेपछि पनि उनीहरू घर फर्किन पाउँदैनथे। रातभरि बँदेल बारीमा पसे कि भन्ने चिन्ताले किसानलाई पिरोलिरहन्थ्यो। खेती गरेर पनि उत्पादन घर भित्र्याउन नसकेपछि कतिपय किसान खेतीबाटै निराश हुन थालेका थिए। तर अहिले वडा कार्यालयले बाँदर धपाउन हेरालु खटाउनुका साथै किसानका बारीमा काँडेतारको जाली लगाएपछि किसानलाई राहत मिलेको छ। वडा कार्यालयले २०८० सालदेखि बारीमा हेरालुको व्यवस्था गर्नुका साथै जङ्गली जनावरबाट बाली जोगाउन जाली लगाएपछि किसानलाई खेती गर्न सहज भएको हो। विगतमा जेठदेखि भदौसम्म मकै खेती जोगाउन स्थानीयले बिहानैदेखि रातिसम्म बारीमा बसेर बाँदर धपाउनुपर्ने अवस्था थियो। वडा कार्यालयले हेरालुको व्यवस्था गरेपछि किसानले लामो समय बारीमा बसेर बाली कुर्नुपर्ने बाध्यता हटेको स्थानीय सूर्यबहादुर विकले बताए। 'दुई वर्षअघिसम्म रातिमा बँदेल र दिउँसोमा बाँदर आएर बाली खाएर हैरान पार्थे। अहिले हेरालु र जाली लगाएपछि जङ्गली जनावर आएर बालीनाली नोक्सान गरेको छैन,' विकले भने। दिनको समयमा हेरालुले बारीमा आउने बाँदर धपाउने गरेका छन् भने बारी वरिपरि काँडेतारको जाली लगाएर रातिको समयमा बँदेल, दुम्सी, मृग, घोरललगायत वन्यजन्तुलाई बालीमा प्रवेश गर्न रोक्ने प्रयास गरिएको छ। वडा कार्यालयले प्रत्येक वर्ष बाँदर लखेट्न नौ जना हेरालु खटाएर कृषकको मकै खेती जोगाउने अभियान सञ्चालन गर्दै आएको छ। साउन र भदौका लागि बाँदर लाग्ने वडाको धैरेनी मेयालपानी क्षेत्रमा नौ जना हेरालु राखेर मकै खेतीको रेखदेख गरिँदै आएको छ। ख्याहाको धैरेनी मेयालपानी, रातामाटा, कोटफेरालगायत क्षेत्रमा छ जना र जोगीथुम क्षेत्रमा तीन जना गरी नौ जना हेरालु राखेर बाँदर धपाउने काम भइरहेको छ। बाँदर हेरालु बिहान ५ बजेदेखि राति ८ बजेसम्म निरन्तर मकैबारी क्षेत्रमा खटिँदै आएका छन्। उनीहरूलाई गुलेली, नक्कली बन्दुक, गोला बारुदलगायत सामग्री उपलब्ध गराइएको छ। बारी वरिपरि काँडेतारको जाली लगाएपछि रातिको समयमा बँदेल, दुम्सी, मृग, घोरललगायत वन्यजन्तुलाई बालीमा प्रवेश गर्न रोक्न सहज भएको स्थानीय रामप्रसाद न्यौपानेले बताए। बाली जोगाउन निरन्तर निगरानी गर्नुपर्ने अवस्थाबाट मुक्त भएपछि किसान मकै खेतीप्रति थप उत्साहित भएको उनको भनाइ छ। जङ्गली जनावरबाट किसानले लगाएको बाली जोगाउन नसक्दा खेतीयोग्य जमिन बाँझिँदै जाने र गाउँबाट बसाइँसराइ बढ्ने जोखिम देखिएपछि वडाले बजेट विनियोजन गरेर हेरालु र काँडेतार लगाउने कार्यक्रम ल्याएको वडा अध्यक्ष चिरञ्जीवी पोखरेलले बताए। 'स्थानीय किसानको मागअनुसार बाँदर र बँदेल लाग्ने ठाउँमा हेरालु र जालीको व्यवस्था गरेका छौँ,' उनले भने। चालु आर्थिक वर्षमा थप ५०० मिटर क्षेत्रमा काँडेतारको जाली लगाउन बजेट विनियोजन गरिएको वडा अध्यक्ष पोखरेलले बताए। वडा कार्यालयले गत वर्ष नमुनाका रूपमा जङ्गली जनावरले अत्यधिक दुःख दिने स्थानमा काँडेतारको जाली लगाएको थियो। त्यसपछि बाँदरलाई जालीमा चढ्न कठिनाइ हुनुका साथै रातिमा आउने बँदेल, दुम्सी, मृग, घोरल र खरायोजस्ता जनावरको प्रवेशसमेत नियन्त्रणमा आएको थियो। बिहान ५ बजेदेखि राति ८ बजेसम्म बारी आसपासमा खटिने गरेको बाँदर हेरालु विष्णुबहादुर सुनारले बताए। 'बाँदर आएको बेला सबै जना मिलेर धपाउँछौँ। तर सामान्य समयमा हेरालु आफैँले बारी हेर्ने भएकाले किसानलाई निकै सजिलो भएको छ,' सुनारले भने। जङ्गली जनावरको समस्या ख्याहाको मात्रै होइन। पाल्पासहित पहाडी जिल्लाका धेरै गाउँमा बाँदर, बँदेल, दुम्सी, मृगलगायत वन्यजन्तुले किसानलाई हैरान पार्दै आएका छन्।  एउटा वडाले हेरालु राख्दैमा वा केही सय मिटर काँडेतार लगाउँदैमा समस्या पूर्ण रूपमा समाधान हुँदैन। तर ख्याहाले देखाएको बाटोले समस्या समाधानका लागि किसान र स्थानीय सरकारबीचको सहकार्य प्रभावकारी हुन आवश्यक देखाएको छ।