रसुवा। नेपाली सेना तथा सम्बद्ध निकायहरूको निरन्तर समन्वय र अहोरात्र खटाइबाट रसुवाको स्याफ्रुबेँसीलाई प्रवेशद्वार बनाएर चिलिमे जलविद्युत् आयोजनाको सुरुङसम्म जोड्ने पहुँचमार्ग निर्माणमा महत्त्वपूर्ण सफलता हासिल भएको छ । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित बनेको सुरुङ क्षेत्रसम्मको सडक सञ्जाल जोडिएको हो । भौगोलिक चुनौतीका बीच साढे तीन दिनको अथक प्रयासपछि १ हजार ५० मिटर लामो ट्र्याक खोलिएको छ । यसअघि साना हेलिकप्टरबाट मात्र पुग्न सकिने उक्त दुर्गम क्षेत्रमा स्याफ्रुबेँसीतर्फबाट सडक निर्माण सुरु गर्दा एक्स्काभेटर प्रयोग गरी ५५० मिटर बाटो तयार पारिएको थियो । त्यसपछि बाँकी रहेको कडा पहरा चिर्न नेपाली सेनाले नौ पटक नियन्त्रित ब्लास्टिङ गरी थप ५०० मिटर ट्र्याक निर्माण सम्पन्न गरेको हो । पहरा फोर्ने र ब्लास्टिङको कठिन कार्य सफलतापूर्वक सम्पन्न भएसँगै चिलिमे जलविद्युत् आयोजनाको सुरुङको मुखसम्म ठूला तथा भारी उपकरण र आवश्यक सामग्री पुर्याउन सम्भव भएको छ । भारी उपकरणहरू कार्यस्थलमा पुर्याइसकेकाले भोलि वा पर्सिसम्ममा सुरुङ छिचोलिने अपेक्षा गरिएको छ ।