सरकारलाई सांसद गणेश विकको प्रश्न : खल्तीमा पैसा नहुनेले उपचार नपाएरै मर्नुपर्ने हो ? 

  • शुक्रबार​ २६ भौ २०८३ ०६:३२ PM
काठमाडौं । नेकपाका सांसद गणेश विकले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ७ सय रुपैयाँ तिर्न नसक्दा एक महिला अस्पतालबाहिरै सुत्केरी हुनुपरेको विषय प्रतिनिधिसभामा उठाएका छन्। प्रतिनिधिसभाको शक्रबारको बैठकमा बोल्दै सांसद विकले राजविराज–१४ की बबिता पासवानले अस्पतालमा ७ सय रुपैयाँ तिर्न नसकेपछि अस्पतालबाहिरै बच्चा जन्माउन बाध्य हुनुपर्ने घटनाले स्वास्थ्य क्षेत्रको अवस्था उजागर गरेको बताए ।  उनका अनुसार बच्चा जन्मिएपछि बबिताका श्रीमान् श्रीमती र नवजात शिशुलाई लिएर अस्पतालको स्त्री तथा प्रसूति रोग वार्डमा पुगेका थिए। तर, अस्पतालका कर्मचारीबाट दुर्व्यवहार भएपछि उनीहरू ई–रिक्सा चढेर घर फर्किन बाध्य भएको सांसद विकले बताए। सांसद विकले सोही अस्पतालमा गत शुक्रबार छिन्नमस्ता गाउँपालिका–५ की २५ वर्षीया सुजनदेवी सदाको समेत चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको दाबी गरे। ‘यी घटनाले गजेन्द्रनारायण सिंह अस्पतालमा सेवाग्राहीप्रति कस्तो व्यवहार भइरहेको छ भन्ने स्पष्ट हुन्छ,’ उनले भने। अस्पतालमा भएका घटनाबारे छानबिन समिति गठन हुने, तर विगतमा दलित समुदायमाथि भएका घटनामा जस्तै छानबिनका नाममा पीडितलाई नै थप पीडा दिने काम हुनसक्ने भन्दै उनले सरकारको ध्यानाकर्षण गराए। ‘छानबिन समितिले पीडितलाई थप पीडा हुनेगरी बयान लिनेछ। अन्त्यमा पीडितलाई नै दोषी करार गरेर छानबिन सकिनेछ। प्रतिवेदन सार्वजनिक हुने छैन,’ सांसद विकले भने, ‘यो हालसम्म दलितमाथि हुँदै आएको सत्य छानबिन हो।’ उनले गजेन्द्रनारायण सिंह अस्पतालमा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरे। साथै पीडितलाई क्षतिपूर्तिसहित निःशुल्क उपचारको व्यवस्था गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराए।