वन्यजन्तुको दोहन गर्ने आपराधिक सञ्जालहरूबिरुद्ध बलियो क्षेत्रीय सहकार्य आवश्यक छ : मन्त्री चौधरी

  • शुक्रबार​ २६ भौ २०८३ ०३:२२ PM
ललितपुर  । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तुको दोहन गर्ने आपराधिक सञ्जालहरूविरुद्ध बलियो क्षेत्रीय सहकार्य आवश्यक रहेको बताएकी छिन् ।  कृषि, वन तथा पर्यावरण मन्त्रालयको नेतृत्वमा आज ललितपुरमा आयोजित दक्षिण एसियाली वन्यजन्तु कानुन कार्यान्वयन सञ्जाल (सावेन) पहिलो महासभाको समापन कार्यक्रममा उनले सावेनको जिम्मेवारी परिणाम देखाउने भएकाले दरिलो सहकार्यको आवश्यकता औंल्याइन् । “काठमाडौँमा निर्माण भएको सहकार्यको गतिशीलतालाई निरन्तरता दिँदै आगामी दिनमा व्यावहारिक कदममार्फत क्षेत्रीय वन्यजन्तु अपराध नियन्त्रणमा ठोस प्रगति हासिल गर्नुपर्नेमा छ,  काठमाडौँमा विकसित भएको सहकार्य, मित्रता, ऐक्यबद्धता र सामूहिक प्रतिबद्धताको भावनाले दक्षिण एशियामा वन्यजन्तु अपराध नियन्त्रणका लागि आगामी सामूहिक प्रयासलाई निरन्तर मार्गदर्शन गर्ने विश्वास छ”, उनले भनिन् । मन्त्री चौधरीले काठमाडौँ घोषणापत्रमार्फत अवैध वन्यजन्तु व्यापार नियन्त्रण र क्षेत्रीय सहकार्य सुदृढ गर्ने साझा राजनीतिक प्रतिबद्धता व्यक्त भएको बताइन् । महासभामा सदस्य राष्ट्रहरूले देखाएको सक्रिय सहभागिता, रचनात्मक छलफल, खुलापन, लचकता र सहकार्यको प्रशंसा गर्दै उनले पहिलो साधारण सभाले सावेनको आगामी यात्राका लागि सुदृढ संस्थागत आधार र स्पष्ट दिशा प्रदान गरेको उल्लेख गरिन् । सभाले महत्त्वपूर्ण संस्थागत, कार्यक्रमिक तथा वित्तीय विषयमा निर्णय गरेको छ, आगामी वर्षहरूमा सावेनका गतिविधिलाई मार्गदर्शन गर्ने कार्यान्वयनको खाका अनुमोदन गरेको मन्त्री चौधरीले उल्लेख गरिन्  ।   “घोषणापत्रले अवैध वन्यजन्तु व्यापारविरुद्ध क्षेत्रीय सहकार्य बलियो बनाउन तथा वन्यजन्तु अपराध नियन्त्रणका लागि प्रभावकारी क्षेत्रीय संयन्त्र निर्माण गर्ने साझा राजनीतिक प्रतिबद्धता प्रतिबिम्बित गरेको छ”, उनले भनिन् । मन्त्री चौधरीले निर्णयभन्दा कार्यान्वयन महत्त्वपूर्ण भएको भन्दै काठमाडौँमा भएका निर्णयमा मात्र नभई ती निर्णयलाई अब कसरी व्यवहारमा उतारिन्छ भन्ने कुराले निर्धारण गर्ने बताइन् । बङ्गलादेशका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री अब्दुल अवल मिन्टुले यस महासभाले वन्यजन्तु अपराध अब कुनै एउटा देशले मात्र एक्लै समाधान गर्न सक्ने समस्या रहेन भन्ने कुरा प्रस्ट पारेको बताए । क्रमशः अझ सङ्गठित, सीमापार र प्रविधिमा आधारित हुँदै गएको तस्करीविरुद्ध हाम्रा कार्यान्वयन प्रयासहरू पनि आफ्ना सीमाभन्दा बाहिर जानुपर्छ भन्दै उहाँले सावेनमार्फत वन्यजन्तुको अवैध व्यापारलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सूचना आदानप्रदान, समन्वय, कार्यान्वयन र सुदृढ संस्थागत क्षमता अत्यावश्यक छ भन्ने कुरालाई पुष्टि गरेको बताए । दक्षिण एसियाली वन्यजन्तु कानुन कार्यान्वयन सञ्जाल (सावेन) को प्रथम महासभामा दक्षिण एसियाका आठ वटा देशका सरकारी प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।