बाढी प्रभावितलाई बुटवलका व्यवसायी पौडेलद्वारा २५ लाख सहयोग

  • शुक्रबार​ २६ भौ २०८३ ०२:४९ PM
बुटवल । बुटवलका व्यवसायी एवं सामाजिक अगुवा थानेश्वर पौडेलले बाढी प्रभावित नागरिकको राहतका लागि २५ लाख २५ हजार रुपैयाँ सहयोग गरेका छन् । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहतका लागि पौडेलले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् । पौडेलले व्यक्तिगत रूपमा यो रकम कोषमा जम्मा गरेको बताए । पौडेल मानव धर्म सेवा समिति बुटवलका स्वयं सेवी र शाइन रेसुंगा डेभलपमेन्ट बैंक सञ्चालक समितिका अध्यक्ष समेत हुन् । ‘रसुवा, धादिङ, नुवाकोट लगायत जिल्लामा नेपालको इतिहासकै ठूलो विपत्ति आएको र मुलुकले खर्बौं क्षति बेहोरेको पीडादायी अवस्थामा सबै नेपालीले गच्छेअनुसार सरकारलाई सहयोग गर्नुपर्ने नागरिक दायित्वबोध गरेर कोषमा रकम जम्मा गरेको हुँ,’ पौडेलले भने । आफू अध्यक्ष रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंकले यसअघि नै ६५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिसकेको पौडेलले जानकारी दिए ।