गुल्मी । कफीखेतीका लागि अग्रणी जिल्ला गुल्मीमा ३८ जातका कफीको परीक्षण गरिएको छ । जिल्लामा व्यावसायिक कफीखेतीको विस्तारसँगै कफीका नयाँ जातको परीक्षण तथा गुणस्तर अध्ययनका लागि उक्त परीक्षण गरिएको हो । कफी अनुसन्धान कार्यक्रमअन्तर्गत भण्डारीडाँडामा आर्थिक वर्ष २०८२÷८३ मा ३८ जातका कफीको जातीय मूल्याङ्कन सम्पन्न भएको कफी अनुसन्धान कार्यक्रमका प्रमुख तथा वरिष्ठ वैज्ञानिक जनार्जन गौतमले जानकारी दिए । उनका अनुसार परीक्षण गरिएका जातमध्ये तीन वटा जात सिफारिसका लागि अन्तिम चरणमा पुगेका छन् । ती जातमा ‘गुल्मी लोकल’, ‘सेलेक्सन–१०’ र ‘एलोक्याटुरा’ रहेका छन् । रुरुक्षेत्र गाउँपालिकामा रहेको कफी अनुसन्धान कार्यक्रमले प्राङ्गारिक प्रविधिमार्फत ३८ जातका कफीको जातीय परीक्षण सम्पन्न गरेको हो । आगामी वर्ष थप अनुसन्धानमा समावेश गर्नेगरी भारतबाट चार वटा नयाँ जातका कफीका बिरुवा ल्याएर बेर्ना उत्पादन सुरु गरिएको गौतमले बताए । कफी अनुसन्धान कार्यक्रमअन्तर्गत करिब १०० रोपनी क्षेत्रफलमध्ये ६० रोपनीमा कफीका जातीय तथा अन्य परीक्षण र बीउ–बेर्ना उत्पादन भइरहेको छ । नेपालमा हालसम्म कुनै पनि कफीका जात सिफारिस नभएको अवस्थामा अनुसन्धान कार्यक्रमले यस वर्ष तीन जात सिफारिसका लागि अन्तिम चरणमा पुर्याएको उनले जानकारी दिए । उक्त तीन वटा जातलाई सिफारिसका लागि बीउबिजन तथा गुणस्तर नियन्त्रण केन्द्रमा प्रस्ताव पेस गरी प्राविधिक उपसमिति तथा जात उन्मोचन, दर्ता र अनुमोदन उपसमितिमा प्रस्तुत गर्ने प्रक्रिया अघि बढाइएको बताइएको छ । कफीका जातीय तथा रोगकीरा व्यवस्थापनसम्बन्धी प्रविधि विकासमा अनुसन्धान भइरहेको छ । अनुसन्धान कार्यक्रममा कफीको मातृबोट, हाँगा, बीउ छनोटदेखि बीउअनुसारको माटो, बिरुवा उत्पादन र गुणस्तरसम्मका विषयमा अध्ययन भइरहेको गौतमले बताए । उनले अनुसन्धानका लागि आवश्यक दक्ष जनशक्तिको अभाव रहेको बताए । अनुसन्धान कार्यक्रमबाट वार्षिक १२ हजारभन्दा बढी उन्नत जातका कफीका बेर्ना उत्पादन गरी बिक्री तथा वितरण हुँदै आएको छ । यस वर्ष १५ हजारभन्दा बढी बेर्ना उत्पादन भएको छ । साथै, करिब १०५ किलोग्राम उन्नत जातका कफीका बीउ बिक्री गरिएको छ । जात खुलेको कफीको बेर्ना प्रतिगोटा रु ३५ र बीउ प्रतिकिलो रु दुई हजार ५०० मा बिक्री हुँदै आएको छ । कफीमा लाग्ने सिन्दुरे रोग, सेतो गवारो कीरा तथा मलखाद व्यवस्थापनसम्बन्धी अनुसन्धानबाट प्रविधि विकास गरिएको छ । कफी बालीमा मलखाद तथा छहारी व्यवस्थापन, कफी रोप्ने विधि एवं रोगकीरा व्यवस्थापनसम्बन्धी परीक्षणसँगै कफीको गुणस्तरका विषयमा अध्ययन भइरहेको कार्यालयले जनाएको छ । पछिल्लो समयमा जिल्लामा कफीको बीउ तथा बेर्नाको माग बढ्दै गएको छ । कार्यालयले सीमित बजेटका कारण गत आवमा ५१ किलो कफीको बीउ र १० हजार बेर्ना उत्पादन गर्ने लक्ष्य राखेको थियो । उक्त लक्ष्यमध्ये यसपटक बीउतर्फ ५०० किलो र बेर्नातर्फ १८ हजारभन्दा बढीको माग आएको कार्यालयले जनाएको छ । मागअनुसार बीउ उत्पादन गर्न नसकिएको कार्यालय प्रमुख गौतमले बताए । गुल्मीमा उत्पादित कफीका बिरुवा गुल्मीबाहेक अर्घाखाँची, कास्की, स्याङ्जा, लमजुङ, धादिङ लगायत ४२ भन्दाबढी जिल्लाबाट माग आउने गरेको छ । माग धेरै भए पनि आवश्यक स्रोतसाधन र जनशक्तिको अभावमा मागअनुसार बिरुवा उत्पादन गर्न नसकिएको कार्यालयले जनाएको छ । कफीका उन्नत बीउ–बेर्ना उत्पादनका लागि समूह तथा सहकारीमार्फत काम गर्नुपर्ने कार्यालय प्रमुख गौतमले बताए । जिल्लामा कृषि ज्ञान केन्द्र, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कफी विकास केन्द्र आँपचौर, कफी अनुसन्धान कार्यक्रम भण्डारीडाँडा तथा स्थानीय तहले कफीखेतीको उत्पादन र प्रवर्द्धनमा काम गर्दै आएका छन् । जिल्लामा हाल करिब ३०० हेक्टरभन्दा बढी क्षेत्रफलमा कफीखेती हुँदै आएको छ ।