काठमाडौँ । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको कथा, व्यथा र भावनालाई समेटिएको ‘भोटेकोसी’ बोलको सेमी क्लासिकल गीत सार्वजनिक भएको छ । गायक द्वय मकर योञ्जन र दीपक तामाङको स्वर रहेको गीतमा शब्द रचना पनि योञ्जनकै रहेको छ भने गीतको सङ्गीत संयोजन तामाङले गरेका छन् । बाढीका कारण घरबार, आफन्त र सम्पत्ति गुमाएका भोटेकोसी क्षेत्रका नागरिकको पीडा, सङ्घर्ष र भावनालाई गीतमार्फत प्रस्तुत गरिएको छ । गीतको भिडियोमा स्वयं गायक द्वय योञ्जन र तामाङसँगै सारंगीवादक मनिष गन्धर्वले अभिनय गरेका छन् । बाढीपछि भोटेकोसी क्षेत्रमा देखिएको मानवीय पीडा र प्रभावितको अवस्थालाई गीत तथा दृश्यका माध्यमबाट प्रस्तुत गर्ने प्रयास गरिएको निर्माण पक्षले जनाएको छ । भोटेकोसी बाढीबाट प्रभावित नागरिकको पीडा र उनीहरूको आवाजलाई साङ्गीतिक माध्यमबाट आमजनतासम्म पुर्याउने उद्देश्यले गीत तयार गरिएको हो । गीतले विपद्को पीडा भोगिरहेका परिवारप्रति सहानुभूति र प्रभावित क्षेत्रको अवस्थाप्रति ध्यानाकर्षण गराउने अपेक्षा गरिएको छ । ‘द भ्वाइस अफ नेपाल’ सिजन ५ का उपविजेता योञ्जन सर्लाहीको हरिवनमा जन्मिएका हुन् । पछिल्लो समय उनी कञ्चनपुरको पुनर्वासमा बस्दै आएका छन् । यद्यपि गीत–सङ्गीतको क्षेत्रमा सक्रिय रहँदै आएका उनी हाल काठमाडौँमा छन् । योञ्जनले अहिलेसम्म करिब तीन दर्जन म्युजिक भिडियो सार्वजनिक गरिसकेका छन् । उनको चर्चित गीत ‘समर्पण’ हो, जसमा ७० हजारभन्दा बढी टिकटक भिडियो बनेका छन् । सङ्गीत अध्ययनका लागि भारत पुगेका योञ्जनले त्यहाँ करिब आठ वर्ष बिताएका थिए । सो अवधिमा उनले दुई हजारभन्दा बढी साङ्गीतिक तथा विभिन्न कार्यक्रममा प्रस्तुति दिएको जनाइएको छ । गीतका एरेन्जर दीपक तामाङ पनि ‘द भ्वाइस अफ नेपाल’ सिजन ५ को टप १२ सम्म पुगेका थिए । उनले हालसम्म करिब डेढ दर्जन गीतमा स्वर दिएका छन् भने एक दर्जनभन्दा बढी गीतको एरेन्ज गरिसकेका छन् ।