काठमाडौँ । काठमाडौँ महानगरपालिकाले रसुवा भोटेकोशी बाढीबाट विस्थापित भएर काठमाडौँमा रहेका १३२ जना बालबालिकालाई विद्यालय पठाउन थालेको छ । नागार्जुनस्थित पहेँलो गुम्बामा आश्रित बालबालिकालाई डल्लु आवास क्षेत्रमा रहेको गीतामाता स्कूलमा अध्ययन गराउन थालेको हो । विद्यार्थीहरुलाई पुस्तक र दिवा खाजा उपलब्ध गराइएको छ । पहिलो दिन ५९ जना बालबालिका कक्षामा उपस्थित हुनुभयो । उहाँहरुको मनमा पुगेको गहिरो चोट कम गराउन, बालबालिकाका आवश्यकता र उपलब्धताका बारेमा थाहा पाउन काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल विद्यालयमा पुगेर बालबालिकासँग संवाद गर्नुभयो । उहाँले बिद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुसँग कुरा गर्दै, ‘वचन र व्यवहारले बालबालिकालाई थप चोट पुग्न सक्छ, उहाँहरुसँग आत्मीय व्यवहार गरेर मनको आघातलाई विर्सन सघाउनु ।’ किताब र पाठभन्दा विद्यार्थीमा भएको त्रास कम गराउन परामर्श गर्नू ।’ विद्यार्थीहरुलाई प्रोत्साहित गर्न कार्यपालिका सदस्यहरु, जनप्रतिनिधिहरु, शिक्षा विभागका अधिकारीहरु विद्यालय गएर बालमैत्री वातावरण निर्माणका लागि सहजीकरण गर्नुभएको थियो । यसरी विद्यालय आउने विद्यार्थीमध्ये केहीका बुबा आमा दुवै हुनुहुन्न । केहीका बुबा वा आमामध्ये एकजना हुनुहुन्न । कसैका परिवार हुनुहुन्छ । तर, घर र बसोबास स्थल छैन । यसरी विद्यालय जाने विद्यार्थीहरुका लागि कोशिस नेपालले झोला र पोशाकको व्यवस्था गरिदिएको छ । यस्तै मनोसामाजिक परामर्श प्रदान गरेको छ । आश्रय स्थलबाट विद्यालयसम्म ल्याउन पुर्याउन एलआरआइ स्कूलले सवारी साधन उपलब्ध गराएको शिक्षा विभागका वरिष्ठ अधिकृत सुशिल सुवेदीले जानकारी दिनुभयो । दोस्रो दिन ६१ जना विद्यार्थी विद्यालय आउनुभयो । विद्यालयका प्रधानाध्यापक हरिकृष्ण श्रेष्ठ भन्नुहुन्छ, ‘विद्यालय आउने कुरालाई स्वतः स्वीकार गर्ने विद्यार्थी आउनुभएको हो । गहिरो चिन्तामा परेका विद्यार्थीहरुलाई बल गराएर आउनै पर्छ भन्ने गरिएको छैन । परामर्शबाट विस्तारै सामान्य अवस्थामा ल्याउने प्रयास छ । विद्यालय आउने विद्यार्थीको संख्या बढ्दो छ ।’ सुवेदीका इसीडीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरु महानगरपालिकाको सम्पर्कमा हुनुहुन्छ । उहाँहरुमध्ये सबैभन्दा धेरै कक्षा १ मा अध्ययन गर्ने ४५ जना हुनुहुन्छ । इसीडी, नर्सरी र कक्षा १० मा अध्ययन गर्ने २-२ जना हुनुहुन्छ । नर्सरी, युकेजी र कक्षा १२ मा अध्ययरत १-१ जना हुनुहुन्छ । कक्षा २ मा ८ जना, कक्षा ३ मा ११ जना, कक्षा ४ मा १२ जना, कक्षा ५ मा ९ जना, कक्षा ६ र ७ मा ६-६ जना हुनुहुन्छ । कक्षा ८ मा ११ जना, कक्षा ९ मा १० जना र कक्षा ११ मा ५ जना विद्यार्थी हुनुहुन्छ ।