प्रतिनिधिसभामा दुई विधेयक प्रस्तुत

  • बिहीबार २५ भौ २०८३ ०७:२१ PM
काठमाडौँ । प्रतिनिधि सभामा ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गरिएको छ । आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले उक्त विधेयकहरु प्रस्तुत गरेका हुन् । यसैगरी बैठकले ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी प्रस्तावमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको थियो । उक्त विधेयक प्रस्तुत गर्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले छलफलमा सांसहरूका सुझाव निकै महत्वपूर्ण अएका बताइन् । साथै उनले एसियाली मुलुकका धेरै विशेषता समान भएकाले अनुभव कानुन निर्माणमा सहयोगी हुने धारणा व्यक्त गरिन् । प्रस्तावमाथिको छलफलमा सांसदहरू विक्रम थापा, कृष्णहरि बुढाथोकी, प्रकाशचन्द्र परियार, पुकार बम, रेनुका काउचा, रिमा विश्वकर्मा, मनमाया विक, अनुष्का श्रेष्ठ, प्रमिलाकुमारी गच्छदार, मोहनलाल आचार्य, यज्ञमणि न्यौपाने, रेखाकुमारी यादव, शाहजान खातुन, प्रेमबहादुर बयक, एसुदाकुमारी बराल, युवराज दुलाल, नरेन्द्रकुमार केरुङ, गणेशबहादुर विक, गुरुप्रसाद बराल, हरिमोहन भण्डरी र सादिजा खातुन सिद्धिकीले भाग लिँदै आफ्ना धारणा व्यक्त गरेका थिए । बैठकले राष्ट्रियसभाका पूर्वसदस्य शुक्रराज संयोकको निधनमा शोक प्रस्ताव पारित गर्दै उनको सम्मानमा बैठकमा एक मिनेट मौनधारण गरिएको थियो । उनि २०५४ सालमा नेपाली कांग्रेसबाट राष्ट्रिय सभा सदस्य बनेका थिए । प्रतिनिधिसभाको अर्को बैठक यही भदौ २६ गते शुक्रबार दिउँसो १ः०० बजे बस्नेछ ।