काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले भोटेकोशी बाढी प्रभावित क्षेत्रका तीन हजार ६०० भन्दा बढी नागरिकको स्वास्थ्य उपचार गरेको छ । बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीले भदौ १० गतेदेखि हेल्थ क्याम्प खडा गरी स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको छ । नेपाल एपिएफ अस्पताल बलम्बुबाट खटिएको विशेषज्ञ चिकित्सकसहितको टोलीले बाढी प्रभावित क्षेत्रको विभिन्न ठाउँमा हेल्थ क्याम्प सञ्चालन गर्नाका साथै कारागार तथा होल्डिङ सेन्टरमा रहेका घाइते र बिरामीको उपचार गरेको सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । सशस्त्र प्रहरीको स्वास्थ्य टोलीले बाढी प्रभावित क्षेत्रमध्ये रसुवाको जिल्ला अस्पताल धुन्चे र टिमुरे, नुवाकोटको आयुर्वेद चिकित्सालय, क्रियापुत्री भवन, केन्द्रीय कारागार नुवाकोट, सेतीदेवी आधारभूत विद्यालय, क्षेत्रपाल आधारभूत विद्यालय, रणभुवनेश्वरी माध्यमिक विद्यालय, नुवाकोट स्वास्थ्य चौकी लगायतका ठाउँहरुमा हेल्थ क्याम्प स्थापना गरी स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ । यस्तै, उक्त बलले धादिङको गल्छी र काठमाडौँको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा समेत भदौ १० गतेदेखि नै हेल्थ क्याम्प खडा गरी सेवा प्रदान गर्दै आइरहेको छ । नुवाकोटस्थित केन्द्रीय कारागारभित्र फैलनसक्ने सम्भावित सरुवा रोग तथा स्वास्थ्य समस्यालाई ध्यानमा राखी सशस्त्रको टोलीले विशेष स्वास्थ्य परीक्षण गरेको छ । उक्त कारागारमा भदौ १७ गते १८५ जना र २४ गते २१७ जना कैदीबन्दीलाई स्वास्थ्य परीक्षण तथा उपचार सेवा प्रदान गरेको छ । बाढी प्रभावित क्षेत्रका विभिन्न ठाउँमा खोज तथा उद्धारको लागि सशस्त्र प्रहरी बल नेपालले चार हजार २०० भन्दा बढी जनशक्ति परिचालन गरेको छ । सशस्त्रको सो टोलीले बाढीमा परेकाको खोज तथा उद्धार, स्वास्थ्य सेवा, आपत्कालीन औषधि उपचार, होल्डिङ सेन्टरको व्यवस्थापन तथा राहत सामग्री वितरणलगायत कार्यमा निरन्तर खटिँदै आएको छ ।