काठमाडौँ । नेपाली सञ्चार क्षेत्रमा सक्रिय अश्मा न्यौपानेले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै एसियाका दुई प्रतिष्ठित उपाधि प्राप्त गरेकी छन् । न्यौपानेलाई 'एसियाज मोस्ट एम्पावर्ड मिडिया पर्सनालिटी' र 'वुमन इन्फ्लुएन्सर अफ द इयर' उपाधिबाट सम्मानित गरिएको हो । सञ्चार क्षेत्रसँगै महिला सशक्तीकरण, सामाजिक अभियान तथा समुदायसँग जोडिएका गतिविधिमा पुर्याएको योगदानको कदर स्वरूप न्यौपानेलाई उक्त सम्मान प्रदान गरिएको उपलब्ध गराइएको सम्मानसम्बन्धी विवरणमा उल्लेख छ । एसियाली मञ्चमा नेपाली महिलाका रूपमा प्राप्त यी दुई सम्मानलाई न्यौपानेको व्यावसायिक यात्राको महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । सञ्चार तथा सामाजिक क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएकी न्यौपानेका लागि यी सम्मानले अन्तर्राष्ट्रियस्तरमा उनको पहिचान थप विस्तार गरेको छ । सम्मानसम्बन्धी विवरणमा न्यौपानेको नेतृत्व क्षमता, समर्पण, सामाजिक प्रतिबद्धता र निरन्तर सक्रियतालाई सम्मानको आधारका रूपमा प्रस्तुत गरिएको छ । विशेष गरी महिला सशक्तीकरण र सामाजिक क्षेत्रमा सक्रिय महिलाको आवाजलाई थप प्रभावकारी बनाउने तथा समुदायसँग प्रत्यक्ष जोडिएर काम गर्ने न्यौपानेको भूमिकालाई सम्मानले अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गरेको जनाइएको छ । न्यौपानेले प्राप्त गरेको उपलब्धिलाई नेपाली महिला तथा नयाँ पुस्ताका लागि प्रेरणादायी उपलब्धिका रूपमा समेत लिइएको छ । अन्तर्राष्ट्रिय मञ्चमा नेपाली सञ्चारकर्मी तथा महिलाको प्रतिनिधित्व गर्दै प्राप्त यी सम्मानले नेपालबाट अन्तर्राष्ट्रिय क्षेत्रमा सक्रिय महिलाको पहिचानलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।