रसुवा। नन्दप्रसाद जानुका फाउन्डेसन र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)यूकेले भोटेकोशी प्रलयमा परी जनधन गुमाएका परिवारलाई रसुवामा पुगेर मायास्वरुप राहत सामग्री प्रदान गरेको छ। रसुवाको कालिका गाउँपालिका वडा नम्बर १ राम्चेका ७२ पीडित परिवारलाई राहत सामग्री वितरण गरिएको हो। फाउन्डेसनका अध्यक्ष अजयबाबु शिवाकोटीले इनास यूके र फाउन्डेसनले जुटाएको सामग्री कालिका गाउँपालिका १ का वडा अध्यक्ष दावा तामाङलाई हस्तान्तरण गरे। राहत सामग्री ग्रहण गर्न पीडित परिवारका आफन्त आएका थिए। वडामा रहेका पीडित परिवारका सदस्यहरूलाई वितरण गर्ने राहत सामग्री ग्रहण गर्दै वडा अध्यक्ष तामाङले पीडाको बेलामा सहयोग गर्न आउने फाउन्डेसन र इनास यूके परिवारलाई धन्यवाद दिँदै अन्य सहयोगी मन तथा संस्थाहरूलाई सहयोगको हात बढाउन आग्रह गरे। फाउन्डेसनले सहयोगीहरुबाट प्राप्त सहयोग एवं आफ्नै कोषमा रहेको रकममा इनास यूकेले मायास्वरूप पठाएको सहयोग एकत्रित गरी पीडित ७२ परिवारलाई राहत वितरण गरेको अध्यक्ष शिवाकोटीले जानकारी दिए। इनास युकेका मनिष श्रेष्ठले पहिलो चरणमा रसुवाका पीडित परिवारसँग पुगेर माया साटिएको बताउँदै यसपछि पनि आफूहरु पीडित परिवारसँग पुग्ने बताए। भोटेकोशी प्रलायमा परी जीवन गुमाएका तथा वेपत्ता भएका व्यक्तिहरूको खोजी कार्य अहिले पनि जारी छ। सब फेला परेका तथा जीवित रहेको आस नभएका व्यक्तिहरूको परिवार तथा आफन्तजन यतिखेर आ आफ्नो धार्मिक परम्परा अनुसार काजक्रियामा छन्।