भदौ २३, २०८२। नेपाली राजनीतिले एउटा असाधारण मोड लिएको दिन। लामो समयदेखि समाजमा जम्मा हुँदै आएको राजनीतिक असन्तुष्टि, भ्रष्टाचारप्रतिको आक्रोश, बेरोजगारी, अवसरको अभाव, सार्वजनिक सेवाप्रतिको निराशा र पुरानो राजनीतिक संस्कारप्रतिको वितृष्णा जेनजी पुस्ताको आन्दोलनमार्फत सडकमा प्रकट भएको दिन। यो आन्दोलन कुनै एउटा निर्णय वा तत्कालीन परिस्थितिको प्रतिक्रियामा मात्र सीमित थिएन: यसले राज्यले नागरिकसँग गर्ने व्यवहार, राजनीतिक नेतृत्वको जिम्मेवारी र शासन प्रणालीको प्रभावकारितामाथि आधारभूत प्रश्न उठाएको थियो । नयाँ पुस्ताले आफूले भोगेको नेपाल र आफूले चाहेको नेपालबिचको दूरी देखायो र परिवर्तनको मागलाई शक्तिशाली सामाजिक आवाजमा परिणत गर्यो । आन्दोलनपछि राजनीतिक परिस्थितिमा ठुलो परिवर्तन आयो, सत्ता र नेतृत्वको समीकरण फेरियो र बालेन साह नेतृत्वको सरकार गठन भयो । त्यसपछि नागरिकमा नयाँ आशा जाग्यो । तर आन्दोलनको एक वर्ष र नयाँ सरकार गठन भएको छ महिना बितिसकेको अवस्थामा अब भावनात्मक समर्थन वा विरोधभन्दा माथि उठेर एउटा गम्भीर समीक्षा आवश्यक छ, जेनजी आन्दोलनपछि के साँच्चै नेपाल बदलियो