काँडाघारीमा ‘फाइट सागा–३’, १० क्लबका फाइटरबीच ३२ भिडन्त हुने

  • बिहीबार २५ भौ २०८३ १०:४५ AM
काठमाडौँ । युवा फाइटरको सीप, क्षमता र प्रतिस्पर्धात्मक क्षमता परीक्षण गर्ने उद्देश्यले ‘फाइट सागा अम्याच्योर एडिसन-३’ आगामी अक्टोबर १० मा काठमाडौँको काँडाघारीमा आयोजना हुने भएको छ । प्रतियोगितामा विभिन्न १० वटा प्रमुख क्लबका फाइटरबीच ३२ वटा भिडन्त हुने आयोजकले जनाएको छ । फाइट क्लब नेपालका अध्यक्ष सुमन नेपालीको आयोजनामा हुने प्रतियोगिता काँडा घारी, पेप्सीकोलास्थित फाइट क्लब नेपालको प्राङ्गणमा सञ्चालन हुनेछ । प्रतियोगितामा विभिन्न क्लबबाट आएका अम्याच्योर फाइटरले प्रतिस्पर्धा गर्नेछन् ।  आयोजकका अनुसार प्रतियोगिताले नयाँ तथा युवा फाइटरलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने र प्रतिस्पर्धात्मक अनुभव हासिल गर्ने अवसर प्रदान गर्नेछ । डब्लुएफकेओ फ्रिस्टाइल किक बक्सिङ एसोसिएसन नेपालकी प्रमुख रेफ्री बिन्दा नेपालीले प्रतियोगितालाई अनुशासित, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गर्न प्राविधिक तथा रे फ्री टोली तयारी अवस्थामा रहेको बताइन् । खेलाडीको सुरक्षा र खेलका नियमलाई उच्च प्राथमिकतामा राख्दै अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रतियोगिता सञ्चालन गरिने उनको भनाइ छ । आयोजक सुमन नेपाली र प्रमुख रे फ्री बिन्दा नेपालीले मार्सल आर्ट्स तथा फाइट खेल प्रेमीलाई अक्टोबर १० मा काँडाघारीस्थित फाइट क्लब नेपालमा उपस्थित भएर युवा फाइटरको हौसला बढाउन आग्रह गरेका छन् । प्रतियोगितामा १० वटा क्लबका फाइटरबीच ३२ वटा भिडन्त हुनेछन् । प्रतियोगिताको आयोजक फाइट क्लब नेपाल रहेको छ भने प्राविधिक तथा रे फ्री व्यवस्थापन डब्लुएफकेओ फ्रिस्टाइल किक बक्सिङ एसोसिएसन नेपालसँगको समन्वयमा गरिने जनाइएको छ ।