बाजुरा। मातृत्व र सुरक्षित सुत्केरीका लागि अनेक कार्यक्रम सञ्चालन गरिन्छ। जनचेतनाका लागि राजधानी काठमाडौँ र देशका ठूला सहरमा गोष्ठी तथा सेमिनार पनि हुने गर्छन्। सचेतनाका अनेक कार्यक्रम सञ्चालन गरिएका छन्। सरकारले सुरक्षित मातृत्वका लागि सुनौला हजार दिनको कार्यक्रम सञ्चालन गर्दै आए पनि त्यस्ता कार्यक्रमले बाजुरामा हालसम्म प्रभाव पार्न नसकेको पाइएको छ। दुर्गम क्षेत्रका गर्भवतीले सुत्केरी हुने समयमा अझै पनि ठूलो जोखिम मोल्नुपर्ने बाध्यता छ। नौवटा स्थानीय तहका प्रायः वडामा आधारभूत स्वास्थ्य संस्थाको पहुँच छ। तर विडम्बना, बाजुराका आमाले अझै बाटोमै बच्चा जन्माउनुपर्ने पीडादायी अवस्था कायम छ। यस्तै पीडादायी व्यथाको सिकार बनिन्– खप्तड छेडेदह गाउँपालिका–४ की २६ वर्षीया कमला बोगटी। उनले मङ्गलबार दिउँसो बूढीगङ्गा नगरपालिका–६, फलासैन बजारमाथिको बाटोमा छोरालाई जन्म दिइन्। सुत्केरी व्यथा लागेर छट्पटाइरहेकी कमलाको अवस्थाबारे स्थानीयले खबर गरेपछि स्वास्थ्यकर्मीको टोलीले बाटोमै प्रसूति सेवा दिएको हो। कमला बाटोमा अलपत्र परेको देखेपछि स्थानीयले खबर गरेका थिए। त्यसपछि बाजुरा स्वास्थ्य चौकी टाँटेकी स्वास्थ्यकर्मी हस्त खडायत, ईश्वरी केसी र जिल्ला अस्पतालमा कार्यरत नर्स निशा रोकाय घटनास्थल पुगेका थिए। 'हामी त्यहाँ पुग्दा प्रसव पीडाले छटपटाइरहेकी कमलाले छोरालाई जन्म दिइन्। जन्मिएपछि बच्चाको अवस्था केही असहज रहे पनि केही समयपछि रुन थाल्यो,' नर्स रोकायाले भनिन्, 'बाटोमै सालनाल व्यवस्थापन गरी आमा र बच्चालाई तत्काल बाजुरा स्वास्थ्य चौकीमा ल्यायौँ। अहिले आमा र बच्चाको अवस्था सामान्य छ।' स्वास्थ्यकर्मीका अनुसार कमलाले बाटोमै बच्चा जन्माउनुको मुख्य कारण अन्धविश्वास रहेको पाइएको छ। यही भदौ १९ गते कृष्ण जन्माष्टमी मनाउन माइतीघर बडीमालिका नगरपालिका–६, कोर्ध गाउँ पुगेकी कमलालाई २२ गते माइतीघरमै सुत्केरी व्यथा लागेको थियो। विवाहित महिलाले माइतीघरमा बच्चा जन्माउनु हुँदैन र त्यसो गरे देवता रिसाउँछन् भन्ने रूढीवादी मान्यताका कारण कमला स्वास्थ्य संस्था जानुको सट्टा मङ्गलबार बिहान त्यहाँबाट आफ्नो घरतर्फ फर्किएकी थिइन्। माइतीघरबाट एक घण्टा लाग्ने जडाङ्गा स्वास्थ्य चौकी वा करिब दुई घण्टा लाग्ने सदरमुकामस्थित जिल्ला अस्पतालमा जानुको सट्टा उनी बिहान एक्लै घर फर्किंदै गर्दा दिउँसो ३:०० बजे बाटोमै शिशुलाई जन्म दिएको स्वास्थ्यकर्मीले बताएका छन्। खप्तड छेडेदह गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश ओलीका अनुसार बाटोमा बच्चा जन्माएकी कमला आठ महिनासम्म गुदुखाती स्वास्थ्य चौकीमा नियमित गर्भ जाँच गराउँदै आएकी थिइन्। 'स्वास्थ्य संस्था पनि धेरै टाढा छैनन्, विगतको भन्दा अहिले चेतनास्तर वृद्धि भएको छ। यद्यपि, घरमा वा बाटोमा बच्चा जन्मिने अवस्था घटेको छैन,' ओलीले भने, 'अब स्वास्थ्यकर्मी, जनप्रतिनिधि र सरोकारवाला सबैले सोच्नुपर्छ र हरेक गर्भवती आमालाई सहज सुत्केरी हुने अवस्था सिर्जना गर्नुपर्छ।' बाजुराका धेरै ग्रामीण बस्तीमा सडक पुगे पनि वर्षायाममा पहिरो र बाढीका कारण सडक अवरुद्ध हुने गर्छ। सडक सञ्चालनमा रहेको समयमा समेत नियमित यातायात नहुँदा गर्भवतीलाई बोकेर वा डोको तथा स्ट्रेचरमा स्वास्थ्य संस्था लैजानुपर्ने अवस्था आउने गरेको स्थानीय खगेन्द्र रावलले बताए। गर्भवतीलाई स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति गराउन सरकारले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आए पनि भौगोलिक विकटता र यातायातको समस्याका कारण सेवा लिन कठिनाइ हुने गरेको उनले बताए। प्रसूतिको समय नजिकिँदासम्म घरमै बस्ने र व्यथा लागेपछि मात्र स्वास्थ्य संस्था खोज्ने, स्वास्थ्य संस्था टाढा हुने, सडकको पहुँच नहुने तथा पारिवारिक कामकाजमा बढी व्यस्त हुने अवस्था छ। यस्तै, जनचेतनाको कमीलगायतका कारण कतिपय गर्भवतीले स्वास्थ्य संस्था पुग्नुअघि नै घरमा वा बाटोमै शिशु जन्माउनुपर्ने बाध्यता रहेको स्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य अधिकृत विनोद धामीले बताए। उनका अनुसार जिल्लामा गत वर्ष एक हजार २२२ महिलाले स्वास्थ्य संस्थामा र ३३ जनाले घरमै शिशुलाई जन्म दिएका छन्। जनस्वास्थ्य अधिकृत धामीले घरमै वा बाटोमा बच्चा जन्माउनुपर्ने अवस्थाको अन्त्य गर्न स्वास्थ्यकर्मीले मात्र सम्भव नहुने भन्दै सरकारले नै गर्भावस्थामा नियमित स्वास्थ्य जाँच, प्रसूतिको केही समयअघि स्वास्थ्य संस्था पुग्न प्रेरित गर्ने तथा सडक पूर्वाधार र स्वास्थ्य संस्थाको सहज पहुँचका लागि ठोस कदम चाल्नुपर्ने बताए। विभिन्न सञ्चारमाध्यम वा प्राप्त जानकारीअनुसार यस वर्षको असारयता मात्र जिल्लामा कम्तीमा पाँच महिलाले बाटोमै बच्चा जन्माएका छन्। गत साउन १० गते गौमूल गाउँपालिका–५ की २० वर्षीया कमला बुढाले लगातार वर्षा र सडक नहुँदा स्वास्थ्य संस्था पुग्न नसकेपछि बाटोमै शिशुलाई जन्म दिएकी थिइन्। यस्तै, साउन १५ गते स्वामीकार्तिक खापर गाउँपालिका–२, उदिना बस्ने २४ वर्षीया सौरी बुढाले स्वास्थ्य संस्था टाढा हुँदा ओडारमै छोरालाई जन्म दिएकी थिइन्। साउन १८ गते सोही गाउँपालिका–३, जोरुकी २४ वर्षीया अनिता महताराले पनि बाटोमै शिशुलाई जन्म दिएकी थिइन्। सुत्केरी व्यथा सुरु भएपछि स्थानीय युवाले घरबाटै स्ट्रेचरमा बोकेर स्वास्थ्य संस्थातर्फ लैजाँदै गर्दा उनले बीच बाटोमै बच्चा जन्माएकी थिइन्।