बाढीले दिएको पीडामा अधिकृत समाज ब्याट-३५ को तीन लाखभन्दा बढी सहयोग, कसले कति सहयोग गरे ? (सूची)

  • बुधबार २४ भौ २०८३ ११:१२ PM
काठमाडौँ । भोटेकोसी नदीको विनाशकारी बाढीले सयौँ परिवारलाई पीडा र सङ्कटमा धकेलेका बेला अधिकृत समाज ब्याट-३५ का शाखा अधिकृत प्रभावित नागरिकको उद्धार, राहत र पुनः स्थापनामा साथ दिन अघि सरेका छन् । समाजले बाढीपीडितका लागि तीन लाख १९ हजार १३९ रुपैयाँ सहयोग गरेको छ । समाजका शाखा अधिकृतले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख ७१ हजार २३४ रुपैयाँ सिधै जम्मा गरेका छन् । त्यस्तै, अधिकृत समाज ब्याट-३५ कोषमा जम्मा भएको एक लाख ४७ हजार ९०५ रुपैयाँ समेत विपद् प्रभावित नागरिकका लागि सहयोग गरिएको हो । यसरी दुवै रकम गरी कुल तीन लाख १९ हजार १३९ रुपैयाँ बाढी प्रभावितको उद्धार, राहत, पुनः स्थापना तथा सम्पर्कविहीन नागरिकको खोजी कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले उपलब्ध गराइएको समाजका अध्यक्ष मङ्गलबहादुर विष्टले जानकारी दिए । भदौ १० गते भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले ठुलो जनधनको क्षति पुर्‍याएपछि समाजले प्रभावित नागरिकको पीडामा साथ दिन आर्थिक सहयोग जुटाएको हो । समाजले विपद्मा परी ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । साथै, घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनः स्थापनासँगै सम्पर्कविहीन नागरिकको खोजी कार्य अझै चुनौतीपूर्ण रहेकाले विपद्को यस कठिन घडीमा सबै पक्षको सहयोग आवश्यक रहेको अध्यक्ष विष्टले बताए । उनले प्रभावित नागरिकसम्म राहत पुर्‍याउन तथा पुनः स्थापनाको कामलाई प्रभावकारी बनाउन सम्बन्धित निकाय, सङ्घसंस्था तथा आम नागरिकलाई सहयोग, समन्वय र सहकार्यका लागि अपिल गरेका छन् । सानो-सानो योगदानले विपद्को पीडामा ठुलो सहारा बन्न सक्छ भन्ने सन्देशसहित अधिकृत समाज ब्याट–३५ का शाखा अधिकृतले आफ्नो कोष र व्यक्तिगत पहलबाट जुटाएको रकम प्रभावित नागरिकका लागि समर्पण गरेका हुन् । सूची अनुसार १२३ जना शाखा अधिकृतले आर्थिक सहयोग गरेका छन् ।  सूची