अर्घाखाँची सम्पर्क समिति यूएईको अध्यक्षमा चिरन आचार्य निर्वाचित, ४१ सदस्यीय समिति को-को चुनिए ?

  • बुधबार २४ भौ २०८३ १०:३० PM
यूएई । अर्घाखाँची सम्पर्क समिति यूएईको अध्यक्षमा चिरन आचार्य निर्वाचित भएका छन्। विगत २२ वर्षदेखि यूएईमा क्रियाशील अर्घाखाँची सम्पर्क समितिको ६ सेप्टेम्बर २०२६ मा भएको सातौँ अधिवेशनले आचार्यको अध्यक्षतामा ४१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।  नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा ओम केसी, प्रथम उपाध्यक्षमा अमित पाण्डे, महिला उपाध्यक्षमा पार्वता श्रेष्ठ मल्ल, उपाध्यक्षमा हिमेन्द्र क्षेत्री, राकेश रायमाझी, गंगा बस्नेत पन्थी, मणिराम गैरे, भीम केसी र गणेशप्रसाद पौडेल चयन भएका छन्। त्यस्तै, कोषाध्यक्षमा हरि बीसी, महासचिवमा नवराज सिंह ठकुरी र सचिवमा रामप्रसाद श्रेष्ठ चयन भएका छन्।  सदस्यहरूमा सुनिल थापा, छन्द श्रेष्ठ, उमा घिमिरे, मञ्जु घिमिरे, सिद्धार्थ भुसाल, कमल खनाल, अनिल खड्का, गोविन्द पोखरेल, सम्झना खनाल, रामबहादुर अधिकारी, नारायणप्रसाद पौडेल, तारा बिरकट्टा मगर, माया रेश्मी मगर, हरि भण्डारी, जुनु पन्थी, अर्चना पाण्डे, बाबुराम भुसाल, राहुल खनाल, जीवन खनाल, अनु शर्मा, प्रियंका श्रेष्ठ, तारा परियार, कृष्ण गमाल, अशोक श्रेष्ठ, लेखनाथ अधिकारी, शिला खनाल, जानका घिमिरे र पुष्पा भाट चयन भएका छन्। दुबईस्थित याक एन्ड यति क्लब एभरेस्टको हलमा भएको अधिवेशनमा नेपाली परिकार सेलरोटी, अचार र खीरका साथै भजन–कीर्तनको माहोल थियो। अधिवेशनमा नेपाली समाज यूएईका अध्यक्ष राम मोक्तान प्रमुख अतिथि थिए।  कार्यक्रमको अध्यक्षता अर्घाखाँची सम्पर्क समिति यूएईका निवर्तमान अध्यक्ष जेपी पोखरेलले गरेका थिए। कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, व्यवसायी, समाजसेवी तथा पत्रकारको उपस्थिति थियो। गुरु दिनेश शर्माको स्वस्ति वाचनसँगै प्रमुख अतिथि, अध्यक्ष र अतिथिहरूले संयुक्त रूपमा दीप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए। दुई चरणमा विभाजन गरिएको कार्यक्रमको सञ्चालन निवर्तमान महासचिव अमित पाण्डेले गरेका थिए। समाजको तर्फबाट सल्लाहकार सिर्जना केसीले शुभकामना मन्तव्य राखेकी थिइन्। गत हप्ता नेपालमा आएको प्राकृतिक विपत्तिमा ज्यान गुमाएकाहरूको आत्माको शान्तिको कामना गर्दै १०८ वटा दीप प्रज्वलन गरी मौनधारण गरिएको थियो। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरिएको थियो। बाढीपीडितका लागि अर्घाखाँची सम्पर्क समिति यूएईले राहतस्वरूप ११ हजार यूएई दिराम अर्थात् करिब ४ लाख ५१ हजार नेपाली रुपैयाँ नेपाली समाज यूएईका अध्यक्ष राम मोक्तानलाई हस्तान्तरण गरेको छ। नेपाली समाज यूएईले विभिन्न संघसंस्थाबाट संकलित रकम एकमुष्ट रूपमा नेपालको प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा पठाउने जनाएको छ। विगत २३ वर्षदेखि यूएईलाई कर्मथलो बनाउँदै आएका अर्घाखाँची सम्पर्क समिति यूएईका निवर्तमान अध्यक्ष जेपी पोखरेल र उनकी श्रीमती यूएईबाट स्वदेश फर्कने भएपछि समितिका पदाधिकारीले संयुक्त रूपमा सम्मानपत्र, खादा र दोसल्ला ओढाएर बिदाइ गरेका थिए। सोही अवसरमा विभिन्न संघसंस्थाले पनि मायाको चिनो, खादा र दोसल्लासहित उनीहरूलाई बिदाइ गरेका थिए।