असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने 

  • बुधबार २४ भौ २०८३ ०७:४५ PM
काठमाडौँ । संविधान दिवस २०८३ को अवसर पारेर असोज ३ गतेदेखि काठमाडौँ उपत्यकाका विस्तारित ६ वटा रुटमा २८ वटा रात्रिकालीन बसबाट सेवा थप गर्ने निर्णय भएको छ । आज काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बस सेवा सञ्चालन हुने नगरपालिकाका प्रमुख, उपप्रमुख, यातायात सेवा प्रदान गर्ने साझा यातायात र सरोकारवाला अधिकारी बिचको बैठकले यो निर्णय गरेको हो ।  काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, चन्द्रागिरी नगरपालिका र बुढानीलकण्ठ नगरपालिकाले साझा यातायातसँगको समन्वयमा गएको वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्दै आएका छन् । यो सेवालाई विस्तार गरेर उपत्यकाको उत्तर दक्षिण र पूर्व पक्षिम दुवै भागलाई जोड्ने गरी गोदावरीदेखि बुढानीलकण्ठसम्म ६ वटा, भक्तपुरको जगातीदेखि रत्नपार्क हुँदै ठमेलसम्म ६ वटा, एअरपोर्टदेखि चन्द्रागिरीको नागढुङ्गासम्म ४ वटा बस, कीर्तिपुरदेखि काठमाडौँको नयाँ सडक नेपाल बायु सेवा निगमसम्म ४ वटा र चक्रपथमा दुईतर्फी फन्को लगाउन ८ वटा बस सञ्चालन हुनेछन् ।  चक्रपथमा यातायात सेवा प्राप्त भएपछि एक ठाउँमा बस परिवर्तन गर्दा सेवा सञ्चालन गरेका हरेक ठाउँमा पुग्न सकिनेछ । यसरी यात्रा गर्दा अधिकतम ८० रुपियाँ भाडा लाग्नेछ ।  रात्रिकालीन बस सेवालाई विस्तार गरेर निरन्तरता दिने निर्णय गर्दै कार्यवाहक प्रमुख डंगोलले भन्नुभयो, ‘हामीले नाफाघाटा जे भए पनि सेवालाई निरन्तरता दिने लक्ष्यसहित ३ महिना परीक्षण सेवा दियौँ । त्यसपछि विज्ञहरुको कार्यदललाई यसको व्यवस्थापन र वित्तीय सुझावका लागि जिम्मा दियौँ । यसरी गरिएको अध्ययनले सेवाको निरन्तरताका लागि ३ वटा विकल्प दिएको छ । यसमध्ये उपत्यकाका नगरपालिकाहरुको वित्तीय साझेदारीमा सेवालाई निरन्तरता दिँदा दिगो र सुरक्षित सेवा हुनेछ ।’ ‘भाडा बढाउने दिशामा अहिले नसोचौँ । हामीले नागरिकलाई सुलभ र सहज सेवा दिनुपर्छ । बरु सेवा सञ्चालनका लागि नपुग रकम जनघनत्व, आकार र स्थानीय तहको क्षमताअनुसार दायित्व लिऔँ ।’ उहाँको प्रस्ताव थियो ।  उहाँको प्रस्तावलाई पारित गर्दै बैठकले वित्तीय साझेदारीमा सेवा सञ्चालन गर्ने निर्णय गरेको हो ।  बैठकमा चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले, अहिले अभ्यास गरिएको यातायात सेवा यात्रुका लागि भरपर्दो सेवा भएको बताउँदै नगरपालिकाहरुको सहभागिता बढ्दै जाँदा लागत कम हुने भएकोले कसैलाई धेरै भार नहुने धारणा राख्नुभयो । त्यस क्रममा बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले, सेवा सञ्चालन गरिएपछि लाभ लागतको मासिक समीक्षा गरेर सेवाको दिगोपनाका लागि काम गर्दै जानु पर्ने बताउनुभयो । छलफलका क्रममा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले, ललितपुरको चापागाउँ, लामाटार, लुभुसम्म रुट विस्तारको सम्भावनामा छलफल गर्नुपर्ने बताउनुभयो ।   ‘बेलुका ८ बजेपछि भक्तपुर जाने सार्वजनिक यातायात पाउन कठिन छ । यसकारण त्यहाँका नागरिकले महंगो भाडा तिरेर आवतजावत गर्नु पर्ने बाध्यता छ । यो समस्या समाधानका लागि हामी पनि सोचिरहेका थियौँ । हामी नगरपालिकाभित्र र नागरिकसँग संवाद गरेर यो समन्वयलाई अगाडि बढाउने दिशामा सकारात्मक छौँ ।’ भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भन्नुभयो, ‘यसले काठमाडौँ र ललितपुरसँग भक्तपुरको सम्बन्ध नजिक ल्याउनेछ ।’ बैठकमा बुढानीलकण्ठ नगरपालिकाका प्रमुख अधिकारी, चन्द्रागिरी नगरपालिकाका प्रमुख गिरी, गोदावरी नगरपालिकाका प्रमुख महर्जनसहित कीर्तिपुर नगरपालिकाका प्रमुख कृष्णमान डंगोल, चन्द्रागिरी नगरपालिकाका उपप्रमुख बसन्ती श्रेष्ठ, काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठसहित अधिकारीहरु सहभागी हुनुहुन्थ्यो । यस्तै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुनिलजंग शाह, साझा यातायातका अध्यक्ष शुशिलराज प्याकुरेल उपस्थित हुनुहुन्थ्यो ।    बैठकले, रात्रिकालिन बस सेवा सञ्चालनको रुट परमिट सहजताका लागि विद्यमान यातायात सम्बन्धी कानुनमा समय सापेक्ष संशोधनका लागि नेपाल सरकारसमक्ष अनुरोध गर्ने, रात्रिकालिन सहरी जीवन प्रवर्धन गर्न काठमाडौँ उपत्यकाभित्रका स्थानीय तहहरुले आफ्नो क्षेत्रभित्रका सार्वजनिक स्थलहरुमा जात्रा पर्व, मेला, महोत्सव आयोजना गरी रात्रिकालीन जीवनशैलीलाई सक्रिय बनाउने निर्णय गरेको छ ।  यस्तै, साझा यातायातमार्फत हुने सेवालाई थप प्रभावकारी बनाउन, यात्रु संख्या वृद्धि गर्न, गन्तव्य स्थलमा चार्जिङ स्टेशन निर्माण गर्न तथा रात्रिकालिन बस पार्कको व्यवस्थापनका लागि सम्बद्ध स्थानीय तहले आवश्यक सहयोग तथा सहजीकरण गर्ने निर्णय भएको छ ।