बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालनमा

  • बुधबार २४ भौ २०८३ ०७:२२ PM
गोरखा । मनास्लु पदमार्गअन्तर्गत दुई ठाउँको पुल बाढीले बगाएर बाटो बन्द भएपछि स्थानीयले फड्के बनाएर पुनःसञ्चालनमा ल्याएका छन् । चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित थेराङ र सुराङ खोलामाथि फड्के हालेर पदमार्ग पुनःसञ्चालनमा ल्याइएको हो ।  चुमनुब्री गाउँपालिका–४ वडाअध्यक्ष पेमा ग्याल्पो लामाका अनुसार गत आइतबार नाम्रुङस्थित फलामे पुल थेराङ खोलाको बाढीले बगाएको थियो । यस्तै सुक्समको झोलुङ्गे पुल पनि बूढीगण्डकीको बाढीले बगाएको थियो । सुक्सममा पहिरोले बाटो बगाएपछि आवतजावत बन्द भएको थियो । अहिले बूढीगण्डकीले पुल बगाएपछि अवरुद्ध भएको सुक्सममाथि वैकल्पिक बाटो बनाएर आवतजावत खुलाइएको वडाअध्यक्ष लामाले बताए । “थेराङमा फड्के बनाएपछि त्यहाँ बाटो खुलिसकेको छ’, उनले भने, ‘सोमबार र मङ्गलबार सुक्सममाथि वैकल्पिक बाटो खनेर सुरङ खोलामाथि फड्को बनाएर अस्थायी आवतजावत खुलाएका छौँ ।”  काठको मुढा तेस्र्याएर दुइतर्फी बार लगाएको फड्के निर्माण गरिएको वडाध्यक्ष लामा बताउछन् । सुराङको फड्के तरेर स्याउबारी हुँदै नाम्रुङ निस्कने वैकल्पिक बाटो निर्माण भएको छ । आइतबार बिहान थेराङ खोलामा गएको बाढीले नाम्रुङका चार घर, दुई लघुजलविद्युत् र एक पुल बगाएको थियो । साथै, सोही बाढीले बूढीगण्डकीको बहाव बढ्न गई सुक्समस्थित झोलुङ्गे पुल बगाएको र पहिरोसमेत झरेपछि मनास्लु पदमार्ग अवरुद्ध बनेको थियो ।