काठमाडौँ । भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित रसुवाका दलित तथा भूमिहीन परिवारको पीडामा समृद्धि ग्लोबल फाउन्डेसन नेपालले साथ दिएको छ । बाढीबाट प्रभावित कालिका गाउँपालिका–२ का ३१ परिवारलाई फाउन्डेसनले खाद्यान्नसहित आवश्यक राहत सामग्री वितरण गरेको हो । जिल्ला भूमि अधिकार मञ्च, रसुवामार्फत सोमबार गरिएको राहत वितरणमा बाढी प्रभावित परिवारलाई चामल, दाल, लत्ताकपडा, भाँडाकुँडा, झोला, कम्बल तथा कापी किताब उपलब्ध गराइएको थियो । त्यस्तै चाउचाउ, चिउरा, बिस्कुट र खानेपानी लगायत दैनिक उपभोगका सामग्रीसमेत वितरण गरिएको फाउन्डेसनले जनाएको छ । राहत वितरण कार्यक्रम भूमि अधिकार मञ्च कालिका गाउँपालिकाका अध्यक्ष एवम् पूर्व उपाध्यक्ष भवानी न्यौपाने तथा वडा अध्यक्ष उमेश बहादुर न्यौपानेको रोहबरमा गरिएको हो । कार्यक्रममा बाढीबाट प्रभावित दलित तथा भूमिहीन परिवारलाई प्रत्यक्ष रूपमा राहत सामग्री हस्तान्तरण गरिएको फाउन्डेसनका कार्यकारी निर्देशक विवेक थापा मगरले जानकारी दिए । बाढी प्रभावित परिवारलाई राहत वितरण गर्न फाउन्डेसनका कार्यकारी निर्देशक थापा मगरसँगै अध्यक्ष एवं सञ्चालक दिनेश थापा, सञ्चालक भरत थापा, सोमराज गुरुङ, राजकुमार श्रेष्ठ लगायतको टोली कालिका गाउँपालिका-२, कालिकास्थान पुगेको थियो । बाढीका कारण प्रभावित परिवारलाई तत्काल आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा र दैनिक उपभोग्य सामग्री उपलब्ध गराएर विपद्को समयमा प्रभावित समुदायसँगै उभिने प्रयास गरिएको फाउन्डेसनले जनाएको छ । समृद्धि ग्लोबल फाउन्डेसन विपद् तथा विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्ने उद्देश्यले स्थापना भएको संस्था हो । फाउन्डेसनमा आबद्ध सदस्यहरूले विभिन्न निकाय तथा सङ्घसंस्थामा रहेर लामो समयदेखि सामाजिक सेवामा योगदान दिँदै आएका छन् । यसै वर्ष दर्ता भएको फाउन्डेसनले आगामी दिनमा विपद्का बेला प्रभावित नागरिकलाई सहयोग पुर्याउनुका साथै शिक्षा, सामाजिक सेवा तथा अन्य आवश्यक क्षेत्रमा समेत आफ्नो गतिविधि विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ । फाउन्डेसनले ‘विपद्मा परेका नागरिकलाई सकेको सहयोग गर्ने र आवश्यकतामा समुदायसँगै उभिने’ उद्देश्यसहित सामाजिक कार्यलाई निरन्तरता दिने जनाएको छ ।