जेनजी सहिद र बाढीमा परी मृत्यु भएकाहरूको सम्मानमा लुम्बिनीमा दीप प्रज्वलन

  • मङगलबार २३ भौ २०८३ ०८:५९ PM
बुटवल। लुम्बिनीमा गत वर्षको जेनजी आन्दोलनका सहिद तथा गत भाद्र १० गते रसुवा, नुवाकोट लगायतका क्षेत्रमा आएको भीषण बाढी-पहिरोमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरिएको छ।  कार्यक्रममा गत वर्षको जेनजी आन्दोलनका शहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै गत भाद्र १० गते आएको बाढी तथा पहिरोमा परी ज्यान गुमाएका व्यक्तिहरुप्रति शोक व्यक्त गरिएको छ। साथै, विपद्का कारण अझै सम्पर्कविहीन रहेका व्यक्तिहरूको सकुशल खोजी तथा उद्धार होस् र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ होस् भन्ने कामना गरिएको यूथ कांग्रेस लुम्बिनी प्रदेश संयोजक सन्तोष भण्डारीले बताए।  यूथ कांग्रेस नेपाल - लुम्बिनी प्रदेशको आयोजनामा भएको दीप प्रज्वलन कार्यक्रमको संयोजन लुम्बिनी प्रदेश प्रवक्ता कुशल न्यौपानेले गरेका थिए। कार्यक्रममा लुम्बिनी प्रदेशका बिभिन्न जिल्लाका युवाहरू किरण तिवारी, मनोज बेलबासे, यूथ कांग्रेस नेपाल रुपन्देहीका संयोजक हस्नुद्दीन जोलाहा तथा लुम्बिनी परिसरका भिक्षुहरूको उपस्थिति रहेको थियो। यूथ कांग्रेस नेपालमा लोकतन्त्रलाई सुदृढ र संस्थागत गर्ने अभियानका रूपमा अघि बढिरहेको आन्दोलन हो।