सहिदका सपना पूरा गर्न यो सरकार पूर्ण प्रतिबद्ध छः गृहमन्त्री गुरुङ

  • मङगलबार २३ भौ २०८३ ०७:१४ PM
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनमा सहादत प्राप्त गरेका सहिदहरूको सपना पूरा गर्न यो सरकार प्रतिबद्ध रहेको बताएका छन् ।  गत वर्षको भदौ २३ गते जेनजी आन्दोलन भएको दिनको स्मरणमा जेनजी सहिद परिवार कल्याणकारी समाजद्वारा तत्कालीन सङ्घीय संसद् भवन नयाँ बानेश्वर परिसरमा आज आयोजित कार्यक्रममा उहाँले सुशासन कायम गर्न र भष्ट्राचार अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताए । गृहमन्त्री गुरुङले भने, “सम्पूर्ण जेनजी युवा पुस्ता ढुक्क हुनुहोस्, मुलुकमा सुशासन कायम भई भष्ट्राचार अन्त्य हुन्छ । हाम्रा माग र सपना पूरा नहुन देशमा अर्को एउटा गोली चल्नुपर्छ त्यो पनि मेरो शिरबाट ।” उनले प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछनेले विश्वास गरेर जेनजीको आशालाई मर्न नदिनेमा ढुक्क हुन सबैमा अनुरोध गरे । मन्त्री गुरुङले आफूलाई जनताले जसरी विश्वास गरेर यहाँसम्म पुर्‍याए त्यसको सम्मान स्वरुप सुशासन कायम राख्न र भ्रष्टाचार नियन्त्रण गर्न आफूले हरसम्भव प्रयास गरिरहेको उल्लेख गरे । “म तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु जबसम्म मेरो यो ज्यानमा प्राण छ कुनै नेपालीलाई दुःख हुन दिने छैन”, उनले भने । युवाहरूले मुलुकमा लोकतन्त्र आइसकेपछिको अवस्थामा आफ्नो आवाज उठाउँदै गर्दा तत्कालीन सरकारले त्यसको जवाफ गोलीले दिनुपर्ने अवस्था आउनु दुःखद भएको उनको भनाइ छ । कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले तत्कालीन नेतृत्व गरिरहेको सरकारले सामाजिक सञ्जाल बन्द गरेर जनतालाई झनझन अप्ठ्यारो पार्ने काम गरिरहेको अवस्थामा जेनजी आन्दोलन भएको बताए । “त्यतिबेला जनतामा एक प्रकारको आक्रोश मनमा पैदा भइरहेको थियो । हामी संसद् भवनभित्र लड्दै थियौँ । जेनजी आन्दोलनको एक मात्र एजेण्डा सुशासनको स्पष्ट सन्देश थियो”, उनले भने । युवाहरूले सुशासनको पक्षमा आवाज उठाउँदा गोली लागेर ज्यान जाने अवस्था आएको उनको भनाइ छ । मन्त्री गौतमले आन्दोलनमा अमर भएका सहिदको विचार युगौँयुगसम्म बाच्ने र यो स्मृति सदाको लागि रहिरहने उल्लेख गरे । “पहिला २३ गतेको घटना भएको त्यसपछि मात्रै २४ गते भएको हो । त्यो २३ गतेको घटनामा कोही पनि युवा सत्ता पल्टाउछु भनेर सडकमा गएका थिएनन्, सुशासनको माग गरेर सडकमा गएका थिए । त्यस कारणले २३ गते र २४ गतेलाई एउटै आँखाले हेर्न मिल्दैन”, उनले भने । उनले जेनजी युवाका माग पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै सोको कार्यान्वयनका लागि प्रयत्न गरिरहेको उल्लेख गरे । कार्यक्रममा सांसदहरू सोम शर्मा, खगेन्द्र सुनार र शिव यादव, समाजका अध्यक्ष नारायण श्रेष्ठ, जेनजी नेपालका अध्यक्ष बादल राईलगायतले जेनजी आन्दोलनमा युवाले राखेका माग सुशासन कायम राख्नु र भ्रष्टाचार नियन्त्रण गर्नु रहेकाले यो माग पूरा गर्ने क्रममा सरकारसँगै सबै लाग्नुपर्नेमा जोड दिए ।