काठमाडौँ । देशका सुशासन प्रवर्द्धन र भ्रष्टाचार विरुद्ध नवपुस्ताको आह्वानमा गत वर्षको भदौ २३ गते नयाँ बानेश्वरमा भएकोे जेनजी आन्दोलनका सहिद योगेन्द्र न्यौपाने (रोशन)को शालिक अनावरण गरिएको छ । उनको जन्मथलो सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ च्याकुटारवेसीस्थित सुनकोशी किनारको उकास जग्गामा निर्माण गरिएको शालिकको गाउँपालिका अध्यक्ष शङ्करराज बराल र उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानले आज अनावरण गरेका हुन् । सोही कार्यक्रममा त्यहाँ निर्माण गरिएको सहिद स्मृति पार्कको उद्घाटन गरियो । सिन्धुली स्थायी घर भई भक्तपुरको चाँगुनारायण नगरपालिका–१ दुवाकोट बस्दै आउनुभएका रोशनको मुलुकको आवश्यकता र आम जनताको मागलाई कार्यान्वयन गर्न दबाब सिर्जना गर्न नवपुस्ताद्वारा नयाँ बानेश्वरमा आयोजित आन्दोलनमा सहभागी हुँदा गोली लागि निधन भएको थियो । गोलञ्जोरकै स्थानीय प्राथमिक विद्यालयका शिक्षक एवं रोशनका पिता युवराज न्यौपाने सुरु गर्नुभएको शालिक र स्मृति पार्क निर्माणमा पालिकाले रु पाँच लाख सहयोग उपलब्ध गराएको थियो । सरकारले उक्त आन्दोलनका क्रममा नवपुस्ताबाट भएको बलिदानीको कदर गर्दै आज सार्वजनिक बिदासहित जेनजी सहिद दिवस मनाएको छ ।