काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सनाले बाढीप्रभावित विद्यालयका बारेमा बुझ्न संयुक्त रूपमा स्थलगत अवलोकन गरेका छन् । बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वयसहितको टोलीले प्रभावित क्षेत्रमा पुगेर विभिन्न शैक्षिक संस्था तथा पूर्वाधारको स्थलगत अनुगमन गरेका हुन् । यही भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको निरीक्षणका क्रममा मन्त्रीद्वयले विद्यालय भवन, शैक्षिक पूर्वाधार तथा विद्यार्थीको शैक्षिक अवस्थाबारे जानकारी लिएका छन् । उनिहरूले प्रभावित क्षेत्रमा स्थानीय तहका प्रमुख, जनप्रतिनिधि तथा सरोकार भएका निकायका प्रतिनिधिसँग अन्तरक्रियासमेत गरेका छन् । अनुगमन टोलीमा स्थानीय सरकारका प्रमुख तथा अन्य जनप्रतिनिधिको सहभागिता थियो । भ्रमण कार्यतालिकाअनुसार अनुगमन शिक्षा विकास तथा समन्वय एकाइ, विदुरबाट सुरु भएको थियो । त्यसपछि त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको पुलवारि क्षेत्रबाट बाढीप्रभावित स्थानको अवलोकन गरिएको थियो । टोलीले न्यूरेनी सुन्दरी माध्यमिक विद्यालयस्थित होल्डिङ सेन्टर तथा सामुदायिक बहुउद्देश्यीय भवन, विदुर (नुवाकोट दरबार) को समेत अवलोकन गरेको थियो । कार्यतालिकाअनुसार विदुरस्थित कर्भट हल, चन्द्रज्योति माध्यमिक विद्यालय तथा अन्नपूर्ण पञ्चकन्या आधारभूत विद्यालयको भवनको अनुगमन गरिएको थियो । भ्रमणका क्रममा बाढीका कारण शैक्षिक संस्थाका भवन तथा अन्य पूर्वाधारमा परेको क्षति, विद्यालय सञ्चालनको अवस्था र विद्यार्थीको पठनपाठनमा परेको प्रभावबारे स्थलगत जानकारी लिनुका साथै प्रभावित विद्यालय तथा विद्यार्थीको शैक्षिक गतिविधि सहज बनाउन आवश्यक पहल गर्ने विषयमा सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरिएको छ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका १५ स्थानीय तह प्रभावित भएका छन् । सरकारले ती स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ । प्रारम्भिक विवरणअनुसार बाढीबाट रसुवा, नुवाकोट र धादिङका १९ विद्यालय पूर्ण तथा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । बाढीबाट १६ जना शिक्षक र २१७ जना विद्यार्थी सम्पर्कविहीन रहेका छन् भने नौ हजार ७४२ विद्यार्थीको सिकाइ प्रभावित भएको प्रारम्भिक विवरणमा उल्लेख छ ।