मुख्यमन्त्री पाण्डेद्वारा ढोरवाराही मन्दिरको संरक्षण र प्रवर्द्धनमा जोड

  • मङगलबार २३ भौ २०८३ ०८:०० PM
तनहुँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्लागण्डकी नगरपालिका-९ स्थित प्रसिद्ध धार्मिकस्थल ढोरवाराही मन्दिरको आज दर्शन तथा अवलोकन गरेका छन् । उनले मन्दिरको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्त्वबारे अध्ययन गर्नुका साथै यसको संरक्षण, प्रवर्द्धन, समग्र विकास र व्यवस्थित व्यवस्थापनका विषयमा छलफल गरेका छन् ।  गण्डकी प्रदेशकै महत्वपूर्ण धार्मिक आस्थाको केन्द्रका रूपमा रहेको ढोरवाराही मन्दिरमा पुगेर मुख्यमन्त्री पाण्डेले मन्दिर परिसर, धार्मिक संरचना तथा आसपासको क्षेत्रको अवलोकन गरेका थिए । सोक्रममा उनले ढोरवाराही क्षेत्रलाई धार्मिक पर्यटनसँग जोड्दै थप व्यवस्थित र आकर्षक गन्तव्यका रूपमा विकास गर्न सकिने चर्चा गरे । अवलोकनका क्रममा धार्मिक सम्पदाको मौलिकता जोगाउँदै आवश्यक पूर्वाधार निर्माण, मन्दिर क्षेत्रको संरक्षण तथा पर्यटकमैत्री व्यवस्थापनलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए । ढोरवाराहीको ऐतिहासिक तथा धार्मिक पहिचानलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा प्रवर्द्धन गर्न प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्य गरिने उनको भनाइ छ । शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले ढोरवाराही मन्दिर शुक्लागण्डकी नगरपालिकाको मात्र नभई समग्र गण्डकी प्रदेशकै महत्त्वपूर्ण धार्मिक सम्पदा रहेको बताए । उनले मन्दिरको संरक्षणसँगै योजनाबद्ध विकास र प्रचारप्रसार गर्न सके यस क्षेत्रलाई धार्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न सकिने धारणा राखे । नगरप्रमुख पण्डितले ढोरवाराहीको धार्मिक तथा ऐतिहासिक महत्त्वलाई थप उजागर गर्दै यहाँ आउने भक्तजन तथा पर्यटकका लागि आवश्यक पूर्वाधार विकास गर्नुपर्ने आवश्यकता औँल्याए । उनले मन्दिर क्षेत्रको दीर्घकालीन विकासका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रदेश सरकारसँग आवश्यक समन्वय र सहकार्य गरी गुरुयोजनाका आधारमा विकासका कार्यक्रम अघि बढाउनुपर्ने बताए ।