काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ। समितिले गाउँ–नगर वडा अधिवेशनदेखि केन्द्रीय महाधिवेशनसम्मको मिति तय गरेको हो। केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काद्वारा जारी कार्यतालिकाअनुसार गाउँ–नगर वडा अधिवेशन २०८३ असोज ३ गते शनिबार र ४ गते आइतबार हुनेछ। स्थानीय अनुकूलताअनुसार अधिवेशनको मिति तय गरी सम्पन्न गर्न सकिने समितिले जनाएको छ। वडा अधिवेशनमा वडा अधिवेशन, वडा कार्यसमितिको निर्वाचन तथा क्षेत्रीय प्रतिनिधि चयन गरिनेछ। त्यसका लागि ६ हजार ७४३ वटै वडामा अधिवेशन गर्ने कार्यतालिका छ। त्यसैगरी गाउँ–नगरपालिका अधिवेशन असोज ७ गते बुधबार हुनेछ। प्रदेशसभा क्षेत्रीय अधिवेशन तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज १० गते शनिबार गर्ने कार्यतालिका तय गरिएको छ। कांग्रेसको केन्द्रीय महाधिवेशन असोज १६, १७, १८ र १९ गते हुने भएको छ। केन्द्रीय निर्वाचन समितिले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाको हकमा तोकिएको निर्वाचन अधिकृत र पार्टीका स्थानीय तहसँगको समन्वयमा अधिवेशन सम्पन्न गर्ने जनाएको छ। त्यस्तै, नेपाली जनसम्पर्क समितिका बाँकी रहेका देशहरूको अधिवेशन २०८३ असोज १० गतेभित्र सम्पन्न गर्ने कार्यतालिकामा उल्लेख छ। जिल्ला अधिवेशन र प्रदेश अधिवेशनको समयतालिका भने दोस्रो चरणमा प्रकाशित गरिने समितिले जनाएको छ।