काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले नागरिकमैत्री शासन र भ्रष्टाचारमा शून्य सहनशीलता मार्फत सहिदहरुको सपना पूरा गर्न काठमाडौँ महानगरपालिका प्रतिवद्ध रहेको बताउनुभएको छ । जेन्जी सहिद दिवसको सन्दर्भमा उहाँले, गएको वर्ष भदौ २२ र २३ गते सुशासन र भ्रष्टाचारमुक्त आचरणको मुद्दा अघि सारेर गरिएको आन्दोलन र त्यस अघिका राजनीतिक आन्दोलनबाट सहादत प्राप्त गरेका सहिद र घाइतेप्रति सम्मान प्रकट गर्दै आफू र महानगरपालिकाका तर्फबाट प्रतिवद्धता व्यक्त गर्नुभएको हो । ‘स्वाधीनता, स्वाभिमान र नागरिक अधिकार प्राप्तिका लागि विक्रम संवत् १९९७ सालदेखि गएको वर्षको आन्दोलनसम्मका विभिन्न कालखण्डमा अनेकौँ राजनीतिक क्रान्ति र संघर्षहरू भएका छन् । आज हामीले उपभोग गरिरहेको लोकतान्त्रिक र संघीय शासन व्यवस्था यिनै महान आन्दोलनहरूको जगमा उभिएको उपलब्धि हो ।’ व्यक्तिगत स्वार्थ, पारिवारिक मोह र सुखसयल त्यागेर नागरिक शासनका लागि जीवन उत्सर्ग गर्ने सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै डंगोलले, आन्दोलनका क्रममा घाइते हुनुभएका तथा प्रजातन्त्र र परिवर्तनका लागि जीवन समर्पित गर्नु हुने सम्पूर्ण योद्धाहरू र अग्रजहरूप्रति उच्च सम्मान व्यक्त गर्नुभएको छ । ‘काठमाडौँ हरेक ऐतिहासिक परिवर्तनहरूको प्रत्यक्ष साक्षी हो । शासनसत्ता नागरिकको हित र सेवाका लागि हुनुपर्छ भन्ने सन्देश काठमाडौँले सधैँ मुखरित गर्दै आएको छ । त्यसैले, काठमाडौँ महानगरपालिका सहिदका सपना र नागरिकका अपेक्षाहरू पूरा गर्न दृढ संकल्पित छ । यही मार्गदर्शनलाई आत्मसात् गर्दै हामी जनप्रतिनिधिहरू अहोरात्र सेवामा जुटिरहेका छौँ ।’ उहाँले बताउनुभएको छ । ‘हामी सरकारी सेवालाई झन्झटमक्त, प्रविधिमैत्री र नागरिकको घरदैलोसम्म पुर्याउने ‘नागरिकमैत्री शासन’ स्थापना गर्न प्रतिबद्ध छौँ । स्वास्थ्य, शिक्षा, खानेपानी र स्वच्छ वातावरण जस्ता मौलिक तथा नैसर्गिक अधिकारको पूर्ण प्रत्याभूति गराउन हामी दृढताका साथ अगाडि बढिरहेका छौँ । हरेक नागरिकले आत्मसम्मानका साथ बाँच्न पाउने विभेदरहित समाज निर्माण नै हाम्रो मूल लक्ष्य हो ।’ सहिदले देखाएको बाटो पछ््याउँदै हिँडेको बताउँदै उहाँले, स्थानीय अर्थतन्त्रको प्रवर्धन र पूर्वाधार विकास मार्फत आम नागरिकको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन तथा ‘जेनजी’ आन्दोलन लगायतका विभिन्न संघर्षहरूबाट प्राप्त जनमत पूरा गर्न निरन्तर खटिएको बताउनुभयो । परिवर्तनको अनुभूति हुने वातावरणका विषयमा उहाँले, परिवर्तन केवल शब्दमा मात्र होइन, नागरिकको दैनिक जीवनमा देखिनुपर्नेमा आफू सचेत रहेको बताउनुभएको छ । समृद्ध नेपालको परिकल्पना साकार पार्ने सहिदहरूको सपना उधृत गर्दै उहाँले भन्नुभयो, ‘काठमाडौँलाई न्यायपूर्ण, सुशासित र बस्न योग्य सहर बनाउने हाम्रो अभियान जारी छ । यस अभियानले राष्ट्रिय समृद्धिका लागि समेत महत्वपूर्ण योगदान पुर्याउनेमा हामी विश्वस्त छौँ । सहिदहरूले देखाउनुभएको बाटो र नागरिकले हामीमाथि गर्नुभएको भरोसा नै हाम्रो मार्गदर्शन हो । यही मार्गमा अविचलित भई हिँड्दा मात्रै कलिलो उमेरमा सहादत प्राप्त गर्ने सहिदहरूको आत्माले चिर शान्ति पाउनेछ भन्ने हाम्रो अटल विश्वास छ ।’