भोटेकोशी बाढी : खोज तथा उद्धार र राहतमा बागमती प्रदेश सरकारले के गर्दैछ ?

  • मङगलबार २३ भौ २०८३ ०७:५९ AM
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवालगायत बाढी तथा पहिरो प्रभावित क्षेत्रमा प्रदेश सरकारले उद्धार, राहत, स्वास्थ्य सेवा तथा अस्थायी पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन्। रसुवामा गएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रको अवस्था, प्रदेश सरकारले गरेका काम, चुनौती तथा आगामी योजनाबारे आयोजित पत्रकार भेटघाट कार्यक्रममा मुख्यमन्त्री थापाले बागमती प्रदेशका रसुवा, नुवाकोट, धादिङ र चितवनका १५ स्थानीय तह बाढी तथा पहिरोबाट प्रभावित भएको जानकारी दिए। उनले भने, “भर्खरै मात्रै बागमती प्रदेशका चारवटा जिल्लामा महाविपत्तिले नोक्सान भएको छ। विशेषगरी १५ वटा पालिका प्रभावित छन्। रसुवाका चारवटा पालिका, नुवाकोटका चारवटा पालिका, धादिङका चारवटा पालिका र चितवनका केही पालिका गरेर १५ वटा पालिका प्रभावित भएका छन्।” उनका अनुसार रसुवाका गोसाइँकुण्ड, आमाछोदिङ्मो, कालिका र उत्तरगया गाउँपालिका सबैभन्दा बढी प्रभावित भएका छन्। ती क्षेत्रमा मानवीय क्षतिका साथै पालिका कार्यालय, स्वास्थ्य चौकी, अस्पताललगायत भौतिक संरचनामा समेत ठूलो क्षति पुगेको उनले बताए। जनप्रतिनिधिले समेत विपद्मा ज्यान गुमाएको उनको भनाइ छ। त्यसैगरी नुवाकोटका विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका, किस्पाङ र तारकेश्वर गाउँपालिका तथा धादिङका गल्छी, सिद्धलेक, गजुरी र बेनीघाट रोराङ गाउँपालिका प्रभावित भएका छन्। चितवनका केही स्थानीय तहमा समेत ठूलो क्षति भएको मुख्यमन्त्री थापाले बताए। उनका अनुसार बाढीबाट छवटा जलविद्युत् आयोजना प्रभावित भई ६६२ मेगावाटभन्दा बढी विद्युत् उत्पादन अवरुद्ध भएको छ। बाढीका कारण ठूलो मात्रामा भौतिक संरचना क्षतिग्रस्त भएको र मानवीय क्षतिको पूर्ण विवरण संकलन भइरहेको उनले जानकारी दिए। मुख्यमन्त्री थापाका अनुसार भदौ १० गते बिहान ८ः४६ बजे रसुवाको लेन्दे क्षेत्रमा हिमताल तथा हिमनदी फुटेर आएको बाढीले त्रिशूली नदी आसपासका बस्तीमा ठूलो क्षति पुर्‍याएको थियो। बाढीले स्याफ्रुबेँसी, टिमुरे, धुन्चे, बेत्रावती, बट्टारलगायतका क्षेत्रमा बस्ती, सडक, पुल तथा अन्य पूर्वाधारमा व्यापक क्षति गरेको उनले बताए। विपद्को जानकारी प्राप्त भएलगत्तै प्रदेश विपद् व्यवस्थापन समितिको बैठक बसेर उद्धार तथा राहत कार्य अघि बढाइएको मुख्यमन्त्री थापाले बताए।  आफू सोही दिन दिउँसो नुवाकोटको विदुरस्थित बट्टार पुगेर प्रभावित क्षेत्रको निरीक्षण गरेको र प्रदेशका चारवटा अस्पतालबाट १०० भन्दा बढी स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको उनले जानकारी दिए। प्रभावित क्षेत्रमा तत्काल तीनवटा स्वास्थ्य शिविर सञ्चालन गरिएको तथा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा उपलब्ध गराइएको उनले बताए। घरबारविहीन तथा परिवारका सदस्य गुमाएका नागरिकलाई चारवटा अस्थायी सेल्टरमा राखेर खाना तथा बसोबासको व्यवस्था गरिएको उनको भनाइ छ। मुख्यमन्त्री थापाले संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय र सहकार्यका आधारमा उद्धार तथा राहतको काम अघि बढाइएको बताए। घाइते तथा जोखिममा रहेका नागरिकलाई हेलिकप्टरमार्फत उद्धार गर्ने र प्रदेश सरकारले उपचारको व्यवस्था गर्ने गरी काम गरिएको उनले जानकारी दिए।