विराटनगर । कोशी प्रदेशसभामा आज बसेको बैठकले ‘कोशी प्रदेश दलित अधिकारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाएको छ । प्रदेशका सामाजिक विकासमन्त्री गीता तिम्सिनाले सो विधेयकलाई विचार गरियोस् भनी सदनमा प्रस्ताव प्रस्तुत गर्दा सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गरे । उक्त प्रस्ताव बहुमतले पारित गरेपनि दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाएको हो । सो विधेयकमाथि प्रदेशसभाका सदस्य अमृत अर्याल र शोभा चेम्जोङले संशोधन प्रस्ताव दर्ता गरेपछि दफावार छलफलका लागि विषयगत समितिमा पठाइएको हो । खानेपानी, सिँचाइतथा ऊर्जामन्त्री तिलचन पाठक र भौतिक पूर्वाधार विकासमन्त्री जीवन आचार्यले शून्य समय र विशेष समयमा उठेका प्रश्नहरूको जवाफ दिएका थिए । यसअघि बैठकको विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेशसभा संसदीय दलका उपनेता तिलकुमार मेङ्याङ्बोले भोटेकोशी नदीमा आएको बाढीले हामी सबैलाई रुवाएको प्रसङ्ग उल्लेख गर्दै यस्ता घटनाबाट पाठ सिकेर सरकारले समयमै उचित ध्यान पुर्याउनुपर्ने धारणा राखे । उनले भोटेकोशी नदीमा आएको बाढीले अपार जनधनको क्षति भएकोप्रति गहिरो दुःख व्यक्त गर्दै ग्रिन आर्मी नेपाल नामक संस्थालाई तत्काल सरकारले खारेज गर्नुपर्ने माग गरे । बैठकको शून्य समयमा कोशी प्रदेशसभा सदस्य गणेशप्रसाद उप्रेती, यशोदा कायस्त, मीना श्रेष्ठ, शिला दीक्षित कार्की, नम्वरलाल धिमाल, गीतादेवी रेग्मी, गयानन्द मण्डल र तारादेवी ढकालले पनि मुलुकको समसामयिक विषयमा बोलेका थिए । प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ ।