भोटेकोशी बाढी : सांसद रञ्जित कर्णद्वारा संयुक्त राष्ट्रसंघ र जलवायु कोषसमक्ष क्षतिपूर्तिको माग

  • सोमबार २२ भौ २०८३ ०७:५५ PM
काठमाडौँ। नेपाली कांग्रेसका नेता एवम् राष्ट्रियसभा सदस्य रंजित कर्णले गत १० भदौमा गएको रसुवाको भोटेकोशी-त्रिशूली बाढीलाई लिएर सोमबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र क्षति तथा हानि (लस एन्ड ड्यामेज) सम्बोधन गर्ने कोष (एफआरएलडी) लाई छुट्टाछुट्टै औपचारिक पत्र पठाएका छन् ।  यसका साथै उनको सचिवालयले नेपालस्थित संयुक्त राष्ट्रसंघ आवासीय संयोजकको कार्यालयलाई पत्र व्यक्तिगत रूपमा हस्तान्तरण गर्न भेटवार्ताको समय माग गर्दै छुट्टै इमेल पनि पठाएका छन् । सांसद कर्णले महासचिव गुटेरेसलाई लेखेको पत्रमा रसुवामा गएको विपद्लाई “उच्च हिमाली क्षेत्रमा देखिएको जलवायु न्याय, क्षति तथा हानि र ऋणरहित वित्तीय राहतको आवश्यकता” रहेको विषयसँग जोडेका छन् ।  पत्रमा उनले संयुक्त राष्ट्रसंघबाट विपद्पछिको उद्धार र पुनर्निर्माणमा निरन्तर सहयोग तथा क्षतिको विस्तृत मूल्याङ्कन हुनुपर्ने, विश्व मौसमविज्ञान संगठन (डब्ल्युएमओ) र इसिमोडसँग समन्वय गरी उच्च हिमाली विपद्को बहुविधागत वैज्ञानिक अध्ययन गरिनुपर्ने, जलवायु-जोखिममा रहेका मुलुकहरू ऋणको पासोमा नफसून् भन्नका लागि ऋणरहित र अनुदानमा आधारित जलवायु वित्त प्राथमिकतामा राखिनुपर्ने र “क्रयोस्फियरमा क्षति तथा हानि” शीर्षकको छुट्टै कार्यसमूह गठन गरी हिमाली क्षेत्रका पूर्वसूचना प्रणाली सुदृढ बनाइनुपर्ने माग राखेका छन् ।  सांसद कर्णका अनुसार हस्ताक्षरित पूर्ण पत्रको एक प्रति काठमाडौँस्थित संयुक्त राष्ट्रसंघ आवासीय संयोजकको कार्यालयमार्फत पनि बुझाइने छ । क्षति तथा हानि सम्बोधन गर्ने कोष (फन्ड फर रेस्पन्डिङ टु लस एन्ड ड्यामेज, एफआरएलडी)का सहअध्यक्षद्वय कामिला मिनेर्भा रोड्रिगेज तावारेज र जर्ज बर्स्टिङ तथा कार्यकारी निर्देशक इब्राहिमा चेख डियोङलाई सम्बोधन गरिएको अर्को पत्रमा सांसद कार्णले कोषको बोर्ड र सचिवालयलाई नेपालका सम्बन्धित निकायसँग तत्काल सम्पर्कमा गई अनुदानमा आधारित क्षतिपूर्ति सहयोग पाउने सबैभन्दा छिटो र संस्थागत रूपमा सम्भव बाटो अपनाउन आग्रह गरेका छन् । यस पत्रमा नेपालका राष्ट्रिय फोकल पोइन्ट र सम्बन्धित मन्त्रालयसँग तत्काल प्राविधिक छलफल गर्ने, ऋणभन्दा अनुदानलाई प्राथमिकता दिई जलवायुपीडित मुलुकहरूलाई थप ऋणको भारमुनि नधकेल्ने, आर्थिक र गैरआर्थिक क्षतिको विस्तृत मूल्याङ्कनसँगै हिमनदी पग्लिने र अस्थिर हिमशिलाचट्टान प्रणाली जस्ता क्रायोस्फियर सम्बन्धी जोखिमका लागि छुट्टै कार्यसमूह बनाउने र यस्तो विनाशकारी हिमाली विपद्को सन्दर्भमा सहज तथा सरलीकृत पहुँच प्रक्रिया अपनाउने माग राखिएको छ । यी दुवै पत्रको प्रतिलिपि संयुक्त राष्ट्रसंघ महासचिव कार्यालय, नेपालस्थित संयुक्त राष्ट्रसंघ आवासीय संयोजकको कार्यालय, इसिमोड, संयुक्त राष्ट्रसंघ वातावरण कार्यक्रम (युएनइपी), नेपालका कूटनीतिक नियोगहरू, अर्थ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयलगायतका निकायलाई पनि पठाइएको छ । यसैबीच सांसद कर्णको सचिवालयले काठमाडौँको पुल्चोकस्थित संयुक्त राष्ट्रसंघ हाउसमा रहेको आवासीय संयोजकको कार्यालयसँग औपचारिक भेटवार्ताको समय माग गर्दै छुट्टै इमेल पठाएको छ जसमा महासचिवलाई सम्बोधन गरिएको पत्र प्रत्यक्ष हस्तान्तरण गर्ने र जलवायु न्यायसम्बन्धी विषयमा छलफल गर्ने उद्देश्य उल्लेख गरिएको छ । नेपाली कांग्रेसको तर्फबाट राष्ट्रिय सभा सदस्य रहेका कर्णले रसुवा बाढीपछि उठिरहेको क्षतिपूर्ति र जलवायु न्यायको विषयलाई औपचारिकता दिँदै ठोस पहलको सुरुआत गरेका छन् ।  उनका अनुसार विश्वको जलवायु परिवर्तनमा नेपालको हिस्सा नगण्य रहे पनि जलवायु परिवर्तनको मार भने नेपाल जस्ता पहाडी तथा हिमाली मुलुकले बढी बेहोर्नुपर्ने अवस्था छ जसका कारण अन्तर्राष्ट्रिय समुदायबाट राहतका रुपमा नभई क्षतिपूर्तिका रूपमा र ऋणको भारविना सहयोग आउनुपर्ने उनको तर्क छ ।