सुपादेउराली मन्दिर परिसरमा सरसफाइ

  • सोमबार २२ भौ २०८३ ०५:३६ PM
अर्घाखाँची। अर्घाखाँचीको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल सुपादेउराली मन्दिर परिसरमा सुपादेउराली बजार व्यवस्थापन समितिले आज सरसफाइ गरेको छ। धार्मिक तथा पर्यटकीय क्षेत्रमा सरसफाइ र स्वच्छ वातावरण कायम राख्ने उद्देश्यले अभियान सञ्चालन गरी सरसफाइ कार्यक्रम आयोजना गरिएको बजार व्यवस्थापन समितिका सचिव बाबुराम थापाले बताए। उनका अनुसार सबैको सहयोग र सद्भावले सुपादेउराली मन्दिर क्षेत्र धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा विकास भइरहेको छ। बजार व्यवस्थापन समितिका अध्यक्ष सरोज केसीले सहरी तथा धार्मिक–पर्यटकीय क्षेत्रको सौन्दर्यकरणका लागि सरसफाइ प्रमुख आयाम भएको बताए। उनले सरसफाइलाई थप प्रभावकारी बनाउन बजार व्यवस्थापन समिति, मन्दिर व्यवस्थापन समिति र स्थानीय बासिन्दालगायत सबैको सहयोग रहेको बताए। सरसफाइका लागि भइरहेका प्रयासलाई सफल बनाउन जागरण अभियान सञ्चालन गर्न आवश्यक रहेको अध्यक्ष केसीले बताए। अध्यक्षमा केसी र सचिवमा थापा निर्वाचित भएपछि जनमुखी सुधारका लागि अन्य सङ्घसंस्थाको प्रयासमा रचनात्मक तथा सकारात्मक काम गर्दै आएको जनाइएको छ।