अन्तर्राष्ट्रिय शान्ति दिवस : यो वर्ष 'जलवायु न्यायको सवाल'

  • सोमबार २२ भौ २०८३ ०५:४२ PM
काठमाडौँ। मानव अधिकार तथा शान्ति समाजले “शान्तिका लागि सद्भाव : जलवायु न्याय हाम्रो अधिकार” भन्ने आह्वानसहित ४५औँ अन्तर्राष्ट्रिय शान्ति दिवस मनाउने भएको छ। अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा आगामी असोज ५ गते विभिन्न जिल्लामा प्रदर्शन, संवादलगायतका कार्यक्रम आयोजना गरिने समाजले जनाएको छ। समाजकी सभापति रेनुका पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै विगत दुई दशकदेखि जलवायु न्याय केन्द्रित अभियान सञ्चालन गर्दै आएको समाजले यो वर्ष जलवायु न्यायका सवाललाई केन्द्रमा राखेर दिवस मनाउन लागेको जानकारी दिइन्। हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतका कारण हिमालय प्रभावित भएको भन्दै ती देशबाट क्षतिपूर्ति उपलब्ध गराउन नेपालले अभियान अगाडि बढाउनुपर्ने धारणा समाजले राख्दै आएको छ। यही धारणासहित समाजले ‘हिमालय बचाउ, नदी जोगाउ’ अभियानसमेत सञ्चालन गर्दै आएको जनाएको छ। साथै हिमालय संरक्षणका विषयमा चीन र भारतसँग सहकार्यमा निरन्तर जोड दिँदै आएको समाजले जनाएको छ। समाजले २०६४ सालदेखि नै जलवायु परिवर्तनका कारण विस्थापित वा शरणार्थी हुनसक्ने सम्भावना तथा त्यसका कारण र मात्रा (सङ्ख्या) बारे समयमै पहिचान गरी सम्भावित प्राकृतिक विपत्तिको सामना तथा व्यवस्थापनका लागि राज्य गम्भीर हुनुपर्ने मागसहित देशव्यापी अभियान सञ्चालन गर्दै आएको जनाएको छ। जलवायु परिवर्तनका कारण उत्पन्न हुनसक्ने विपत्तिका बेला उद्धार, राहत र पुनर्वासका लागि आवश्यक जनशक्तिसहितको बलियो र स्थायी संयन्त्र तथा पूर्वाधार निर्माण गर्नुपर्ने समाजको माग छ। यसैगरी, समाजले संविधानको प्रस्तावनामै “जीवनचक्र परिस्थिति सन्तुलन” समावेश गर्न आह्वानसहित अभियान सञ्चालन गर्दै आएको जनाएको छ।